नेभिगेशन
समाचार

फेरि प्रधानमन्त्री भएर देखाउन प्रचण्डले दिए ओलीलाई चुनौती

दार्चुला–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । बुधबार दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफूले प्रधानमन्त्री बनाए पनि संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको बताए । उनले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए । उनले भने– ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’ ओलीले अहिले बहुमत चाहियो भन्दा मलाई त लाज लाग्छ । दुईतिहाइ बहुमतको सरकार विघटन गर्ने संसद विघटन गर्ने केपी ओली अब कुन नैतिकताले जनतासँग बहुमत माग्छन्?’, उनले भने, ‘संविधान च्यात्न र सदन विघटन गर्न बहुमत चाहिएको हो? केपी ओलीलाई मेरो चुनौती छ तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन् ।’ ‘चुनाव जित्न गठबन्धन गरेको होइन, ओलीको दम्भ रोक्न गठबन्धन गरेको हो,’ उनले भने,‘अहिले ओली मत माग्न हारगुहार गरिरहेका छन् । उनले भने, ‘संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन केपी ओलीको नेतृत्वमा छ । यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीको बीचमा संघर्षका रुपमा आएको छ ।’ उनले हिजो युद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमने सामने भए पनि ओलीकै कारण एकैठाउँमा आइपुगेको बताए । उनले केपी ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि हिजो युद्धमा भिडेको कांग्रेसससँग मिल्नु परेको पनि बताए । प्रचण्डले ओली कायर मान्छे रहेको भन्दै चुनाव आएपछि दार्चुला आएर गोहीको आँसु चुहाउने गरेको बताए । ‘जब चुनाव आउँछ अनि दार्चुला आएर गोहीको आँसु चुहाउँछन् केपी ओली । त्यो गोहीको आँसु हो, सक्कली होइन’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेट्न आफूले पहल गरेको दाबी गरे । उनले आफ्नै कारणले नेपालको चुच्चे नक्सा बनेको पनि दाबी गरे । उनले भने,‘केपी ओलीले आफूले चुच्चे नक्सा बनाए भनेर हल्ला फिजाए । त्यो झुटो हो । मेरै पहलमा चुच्चे नक्सा बनेको हो ।’ उनले चुनाव जित्न नभइ ओलीको दम्भ रोक्न गठबन्धन गरेको बताएका छन् । दार्चुलामा प्रतिनिधिसभा सदस्यका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू तथा प्रदेशसभा (क) मा कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (ख) मा माओवादी केन्द्रका मानबहादुर धामी चुनावी मैदानमा छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार