नेभिगेशन
समाचार

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

हेटौंडा–आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । कार्यालयका कर्मचारी राति अबेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री तयार पार्ने र सिल गर्ने तथा मतदान केन्द्रमा कर्मचारी पठाउनेको विवरण तयार गर्ने लगायतका कार्य तीव्ररुपमा भइरहको छ । अब केही दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसका लागि मतपत्र मतदान केन्द्रपिच्छे छुट्याएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरका १० वटै मतदान केन्द्रमा चाहिने मतपत्र आइसकेको उनले बताए । समानुपातिकको मतपत्र पहिले नै आइसकेको र प्रत्यक्षतर्फको मतपत्र पनि आइतबार हेटौँडा आइपुगेको छ । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न सबैले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने निरौलाले बताए । यसैबीच जिल्ला प्रशासन कार्यालयबाट जिल्लामा रहेका मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमनसमेत भइरहेको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मतदानस्थलको निरीक्षण भइरहेको छ । जिल्लामा मतदानस्थल १६७ र मतदान केन्द्र ३६४ रहेका छन् । निर्वाचनमा २ हजार ९१२ कर्मचारी र १ हजार ४४२ स्वयम्सेवक खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पुरुष मतदाताको सङ्ख्या १ लाख ५३ हजार ५२८ तथा महिलाको सङ्ख्या १ लाख ४७ हजार २०० र अन्यको सङ्ख्या ५ रहेको छ । जिल्लामा मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमुना मतदान कार्य जारी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले बताए । साथै मतदाता शिक्षा पनि पालिकामा जारी रहेको उनले जानकारी दिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार