काठमाडौं–धनुषा–४ को प्रतिनिधिसभामा २०७४ कै प्रतिस्पर्धी उम्मेदवार पुनः चुनावी मैदानमा यस पटक पनि उत्रेका छन् । सत्ता गठबन्धन कांग्रेसबाट सह–महामन्त्री महेन्द्र यादव, नेकपा (एमाले)बाट सचिव रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा)बाट महाजन यादवबीच नै यस पटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । यसै क्षेत्रमा जनमत पार्टीका किसुन यादव, राप्रपाका अनिरुद्ध यादव, स्वतन्त्रबाट विजय यादव, हास्य कलाकार कृष्णकुमार महतोसहित ३१ उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । तर मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र जसपाका उम्मेदवारबीच नै हुने देखिएको छ ।
यसअघि धनुषा–४ बाट ३ पटक निर्वाचित भएका एमाले सचिव रघुवीर महासेठ अहिले पनि प्रतिस्पर्धामा छन् र यस पटक पुुनः जित्ने दाबी गर्छन् । एमाले र जसपाबीच गठबन्धन भए पनि दुवै दलको आ–आफ्नै उम्मेदवार छन् भने यता सत्ता गठबन्धनको एकल उम्मेदवार यादव रहेका छन् ।
२०७४ को निर्वाचनमा पनि यिनै ३ उम्मेदवारबीच चर्को प्रतिस्पर्धा भएको थियो । तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मतका साथ विजयी हुँदा कांग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेसी गठबन्धनका उम्मेदवार महाजनले १९ हजार ६६२ मत प्राप्त गरेका थिए ।
महासेठ र महाजन दुवैले अघिल्लो चुनावका सहयात्री गुमाइसकेका छन् । त्यस बेला रघुवीरको साथमा रहेको माओवादी र महाजनको साथमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राजपा) दुवै यो पटक कांग्रेसका उम्मेदवार महेन्द्रको साथमा छन् । एमालेबाट फुटेको एकीकृत समाजवादी पनि सत्ता गठबन्धनमै छ ।
त्यसैगरी एमाले र जसपाबीच चुनावी गठबन्धन भए पनि दुवैको आ–आफ्नै उम्मेदवार भएपछि सत्ता गठबन्धनलाई फाइदा पुग्ने अवस्था देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
गठबन्धन नै बलियो
यादव र महोसठ यो क्षेत्रमा दोस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । संघीय सरकारमा मन्त्री रहिसकेका दुवै नेताको मधेश प्रदेशमा राम्रो प्रभाव छ ।
यसरी कांग्रेस, एकीकृत समाजवादी, माओवादी र लोसपाको मत जोड्दा प्रतिनिधिसभामा यादव बलिया देखिन्छन् । ४ वटै दलको मत जोड्दा ३९ हजार ९७७ मत पुग्छ ।
गठबन्धनको यो मत बाँडिएन भने महासेठलाई जित्न मुस्किल देखिन्छ । यसअघि माओवादीसँग मिल्दा २२ हजार मत ल्याएर जितेको एमालेको मत स्थानीय निर्वाचनसम्म आइपुग्दा बढेको छ । अहिले एमालेको मत मात्र साढे २३ हजार पुगेको देखिन्छ । जसपाका महाजनभने प्रतिस्पर्धामा पछि देखिएका छन् ।
३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सत्ता गठबन्धन दलका उम्मेदवारको अवस्था बलियो देखिएको छ । यस क्षेत्रअन्तर्गत पर्ने ५ वटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिकामा कांग्रेसले जितेको छ । उसले क्षिरेश्वरनाथ नरपालिकाका बहुसङ्ख्यक वडा पनि जितेको छ । एमालेले क्षिरेश्वर नगरपालिका र मिथिला नगरपालिकाको उपप्रमुखसहित बहुमत वडा जितेको छ । यस क्षेत्रमा मिथिला नगरपालिकाको वडा नं ४, क्षिरेश्वरको वडा नं ८ र ९, मिथिला विहारी नगरपालिकाको १, ३, ४ र ५ वडा पर्दैन । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं ९, १३, १४, १९, २१ र २२ गरी ५ वटा भने यसै क्षेत्रमा पर्दछ ।
यो क्षेत्रमा पर्ने पार्टीका वडाध्यक्षहरूले पाएको मतको आधारमा कांग्रेस पहिलो र एमाले दोस्रोमा छन् । तेस्रोमा जसपा र चौथोमा एकीकृत समाजवादी रहेका छन् । सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार महेन्द्रले स्थानीय तहमा कांग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउँछन् । महेन्द्रले गत चुनाव आफू झिनो मतले पराजित भएको सहानुभूतिका कारण यसपटक निर्वाचन जित्ने दाबी पर्छन् ।
उता महासेठले पनि आफू मन्त्री हुँदा यस क्षेत्रमा थुप्रै सडक कालोपत्र गरेको, खोलाहरूमा पुल निर्माण गराएको लगायतको विकास निर्माणका काम गरेकाले यहाँका नागरिकले आफूलाई पुनः जिताउने दाबी गर्छन् । जसपाका उम्मेदवार महाजन यादवले स्थानीय चुनावको नतिजाले यो चुनावमा असर नगर्ने दाबी गर्छन् । आफू लामोसमयदेखि जनतासँगै जिल्लामै रहेकाले जनताप्रति आफ्नो विश्वास रहेको उनकोे दाबी छ ।
नागरिकताको मुद्दा
यो क्षेत्रमा यसपटक नागरिकताको विषय चुनावी मुद्दा बनेको छ । बुवाको जन्मसिद्ध नागरिकता भएका कारण छोराछोरीले नागरिकता नपाएको समस्या पनि धनुषा जिल्लामै यस क्षेत्रमा सबैभन्दा बढी छ । एमालेकै मिलिमतोमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक पारित नगरेको आम बुझाईका कारण पनि यो मुद्दाले पनि महासेठलाई समस्या हुने आँकलन गरिएको छ । यादव, महाजन र स्वतन्त्र उम्मेदवार कृष्णा तीनैजना यो मुद्दालाई जोडतोडले उठाइरहेका छन् । तर त्यो मुद्दाले खासै फरक नपर्ने एमालेका प्रदेशसभा सदस्यका उम्मेदवार सन्तोष यादवको दाबी छ ।
प्रदेशसभामा पूर्व सहयात्रीबीच प्रतिस्पर्धा

बायाँबाट हरिनारायण महतो र शत्रुधन महतो
धनुषा–४ (क) मा ५ स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
ती १२ मध्येमा पनि २ पूर्व सहयात्री सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका शत्रुधन महतो र नेकपा एमालेका हरिनारायण महतोबीच प्रतिस्पर्धा छ । जनता समाजवादी पार्टी नेपालबाट चन्देश्वर महतो उम्मेदवार छन् ।
यस्र्तै जनमत पार्टीबाट सत्यनारायण सिंह, जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्की, राप्रपा नेपालबाट बासुदेव सुवेदी र राप्रपाबाट कपलेश्वर महतो उम्मेदवार छन् । यस्तै जसपाबाट विद्रोह गरी रामनरेश सिंहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
धनुषा–४ को प्रतिनिधि सभामा एमाले र जसपाबीच चुनावी तालमेल नहुँदा उनीहरूले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् ।
सांगठनिक रुपमा यस क्षेत्रका मुख्य प्रतिस्पर्धी एकीकृत समाजवादीका शत्रुधन र एमालेका हरिनारायण हुन् । शत्रुधन एमाले विभाजन अघि सोही पार्टीबाट यस क्षेत्रबाट लगातार ३ पटक विजयी भएका थिए । २ पटक संविधानसभा सदस्य र १ पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । अहिले उनी मधेश सरकारका बहालवाला उद्योग, वन तथा पर्यटनमन्त्री छन् ।
उनलाई ३ पटकसम्म जिताउन हरिनारायणको भूमिका रह्यो । हरिनारायण पनि मिथिला नगरपालिकाका पूर्वप्रमुख हुन् । हरिनारायणलाई प्रमुख जिताउन पनि शत्रुधनको ठूलो भूमिका थियो । शत्रुधन र हरिनारायण एमालेका धनुषा जिल्ला अध्यक्ष रहिसकेका छन् ।
शत्रुधन अहिले नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य छन् भने हरिनारायण एमालेका केन्द्रीय सदस्य । एमाले विभाजनका कारण यसपटक दुबैजना फरक दलबाट उम्मेदवार हुँदा प्रतिस्पर्धा रोचक बनेको छ । यस क्षेत्रबाट २०७४ को निर्वाचनमा शत्रुधनले कांग्रेसका बासुलाल महतोलाई पराजित गरेका थिए ।
यस प्रदेशसभा क्षेत्रमा २२ वटा वडा पर्छन्, जसमा १६ वटा वडा गठबन्धन घटक दल कांग्रेस, एकीकृत समाजवादीसहितका दलले जितेका छन् । अन्य वडामा एमालेले जितेको छ ।
यो क्षेत्रमा कांग्रेस र एमालेको बलियो पकड छ । गत स्थानीय तहको निर्वाचन परिणामअनुसार कांग्रेस पहिलो र एमाले दोस्रो शक्ति हो । तेस्रोमा नेकपा एकीकृत समाजवादी, त्यसपछि क्रमशः माओवादी र जसपा लगायत दल छन् ।
एमालेको बलियो संगठन, लगातार एमालेबाट जितेर १५ वर्ष पूर्वसहकर्मी शत्रुधनको परीक्षण भइसकेकाले विकल्पमा आफूलाई निर्वाचित गराउने हरिनारायाणको विश्वास छ ।