नेभिगेशन
समाचार

मोरङ–३ ‘क’ मा अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु

काठमाडौं- १ नम्बर प्रदेशको मोरङ क्षेत्र नम्बर–३ ‘क’मा नयाँ उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएको छ । उक्त क्षेत्रको उम्मेदवार वनमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयको प्रक्रिया सुरु गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार थापाको मृत्युपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको हो।

निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। निर्वाचन आयोगका अनुसार कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ। त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने आयोगले जनाएको छ ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँने आयोगले जनाएको छ । पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने आयोगले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार