नेभिगेशन
समाचार

सोलुखुम्बुमा आइपुग्यो मतपत्र

सोलुखुम्बु–आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आवश्यक १ लाख ८० हजार थानभन्दा बढी मतपत्र सोलुखुम्बु आइपुगेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी निर्वाचन आयोगले पठाएको १ लाख ८३ हजार थान मतपत्र सोमबार जिल्ला आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुले जनाएको छ । सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीका अनुसार सोमबार आइपुगेका मतपत्रमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ ९० हजार थान र प्रदेश सभा तर्फका ९१ हजार थान रहेका छन् । यस्तै कारागारका कैदीबन्दी र निर्वाचनमा नखिने कर्मचारीहरुका लागि २ हजार थान समानुपातिक मतपत्र पनि सोमबार जिल्ला आइपुगेको कार्यालयले जनाएको छ । संघ र प्रदेश तर्फको समानुपातिक मतपत्र भने यस अघि नै जिल्ला आइसकेको सहायक निर्वाचन अधिकृत कालाखेतीले बताए । मंसिर ४ को चुनावका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी, छेकाबार लगायत सबै सामाग्रीहरु जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका निर्वाचन अधिकृत राम नारायण शाहले बताए । उनका अनुसार उक्त सामाग्रीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सशस्त्र प्रहरीको सुरक्षामा राखिएको छ । सोलुखुम्बुमा १२२ मतदानस्थल र १३५ मतदान केन्द्र तोकिएको छ । जिल्लामा ८१ हजार ५०२ जना मतदाता रहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार