नेभिगेशन
समाचार

शीर्ष नेताहरू पश्चिम नेपालमा चुनावी सभा गर्दै

काठमाडौँ–चुनावी प्रचारप्रसारको क्रममा विभिन्न दलका शीर्ष नेताहरू सुदुर पश्चिम र कर्णाली प्रदेशको विभिन्न चुनावी सभालाई आज सम्बोधन गर्दैछन् । सुदूरपश्चिममा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडी र दार्चुलामा हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले पनि सम्बोधन गर्ने छन् । गृहजिल्ला डडेलधुरामा चार दिने कार्यक्रम सकेर निजी निवास धनगढीमा रहेका देउवाले राजनीति भेटघाट तीव्र पारेका छन् । यस्तै, अध्यक्ष प्रचण्डले बुधबार नै कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । मंगलबार कर्णाली पुगेर जुम्ला, हुम्ला र कालिकोट जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए । अध्यक्ष प्रचण्डसहित माओवादी कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष मायाप्रसाद शर्मा, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लगायत नेताहरू कर्णालीका चुनावी सभामा पुग्ने भएका छन् । प्रचण्डसहित खड्काले हुम्लाको सर्केगाड, जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने धितालले बताए । हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादी नेता छिरिङ डम्डुल लामा (भोटे) उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट माओवादीका रनसिंह परियार र प्रदेश सभा ‘ख’बाट कांग्रेसका जीवनबहादुर शाही उम्मेदवार छन् । शाही प्रदेशको मुख्यमन्त्री भएकाले महत्वको साथ हेरिएको छ । यस्तै जुम्लाबाट हुम्लाबाट प्रतिनिधि सभामा गठबन्धनबाट माओवादीकै गोमा गौतम कुँवर छिन् भने प्रदेश सभा ‘क’बाट कांग्रेसका ललितजंग शाही र प्रदेश सभा ‘ख’बाट एकीकृत समाजवादीका पदमबहादुर रोकाय उम्मेदवार छन् । कालिकोटबाट प्रतिनिधि सभामा माओवादी नेता महेन्द्रबहादुर शाही उम्मेदवार छन् भने प्रदेश सभा ‘क’बाट दुर्गाबहादुर राउत र प्रदेश सभाबाट कांग्रेसका हिक्मतबहादुर विष्टले उम्मेदवारी दिएका छन् । सुदूरपश्चिममा ओलीको सभा एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए । उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्वोधन गर्ने भएका हुन् । एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार