नेभिगेशन
समाचार

संविधानको रक्षा नै गठबन्धनको आवश्यकताः देउवा

काठमाडौँ–प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताएका छन् । आज डडेलधुराको आलिताल गाउँपालिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटक पटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गरे । “अहिलेको सरकार गठबन्धनको सरकार हो”, उनले भने, “गठबन्धन विजयी भए मात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।“संसद् विघटन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भने, “संविधानमा प्रधानमन्त्रीको लहड बाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।” डडेलधुराका जनताले मत दिएर सहयोग गरेर आफू पाँच पटक मुलुकको प्रधानमन्त्री भइसकेको बताउँदै देउवाले आलिताल भित्री मधेसको विकास, सडक पूर्वाधार निर्माण र तटबन्ध निर्माणका लागि सरकारले काम गर्ने जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार