नेभिगेशन
समाचार

एमाले भित्र लोकतान्त्रिक अभ्यास भएन भन्दै एक्लिएका भुसाललाई गृह क्षेत्रमा कति सहज ?

भैरहवा - नेकपा एमाले भित्र प्रभावशाली र बौद्धिक नेताको छवि बनाएका घनश्याम भुसालले त्रिभुज चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरिरहेका छन् । रुपन्देहीको क्षेत्र नं.१ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले सत्ता गठबन्धनको साथ पाएका छन् भने आफ्नै पूर्वपार्टी र आफ्नै पूर्वसहकर्मीसँग प्रतिस्पर्धा गर्नु परेको छ।

तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकबाट केही भित्र प्रवेश गरेपछि भुसालको निवासमा पुगिन्छ। २ तलाको सानो घर, घरसँगै गार्ड गोठ छ। आँगन नै नछुटिने गरी विभिन्न बोटबिरुवाहरू छन् र सँगै तुलक्षीको मठ छ । नेपाली कम्युनिस्ट आन्दोलनले धरोहर मान्ने भुसालको घर देखेपछि हर कोहीले उनी कम्युनिस्ट नै हुन भनेर अनुमान लगाउँछन् । मुस्किलले १५ वटा कुर्ची, प्रचार प्रसारमा खट्ने एउटा अटो, अटोमा राख्ने केही थान त्रिभुज चिन्ह अङ्कित झन्डा बाहेक केही देखिँदैन ।

पार्टीले टिकट नदिएपछि पार्टी परित्याग गरे । पदकै लागि राजनीति गरेको भन्नेहरूका लागि बल पुग्यो । तत्कालीन नेकपा हुने बेला सँगै काम गरेको माओवादी केन्द्र, र पार्टीको आन्तरिक सङ्घर्ष गर्नेबेलाका नेता माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादीसहितको सत्ता गठबन्धनले उनलाई टिकट दिन खोजे पनि उनले मानेनन् । उनी स्वतन्त्र उम्मेदवारी दर्ता गराएर पार्टीको बागी बने । एमालेका छविवाल विश्वकर्मासँग उनले प्रतिस्पर्धा गर्ने निश्चित भयो ।

‘मैले एमाले छोड्दाखेरी यसरी चुनावमा जान्छु भन्ने लागेको थिएन’ क्यानडा नेपालसँगको कुराकानीमा भुसालले भने, ‘सत्ता गठबन्धनले सहयोग गर्ने भएपछि म निर्वाचनमा जानु पर्छ भनेर लागेको हुँ । मतदाताको अहिलेको कुरा सुनेपछि राम्रो गरेछु भन्ने लागेको छ । सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको छु । एमालेमा नरहने निर्णय गरेपछि गठबन्धनले समर्थन गर्ने प्रस्ताव गरेपछि निर्णय गरेको हुँ । परिस्थितिले मलाइ व्यवहारिक राजनीतिक लागि वातावरण बन्यो भन्ने लाग्छ ।’

पार्टी भित्रको आन्तरिक कलहबाट मुक्त भएका भुसाल अहिले पिँजडाबाट बाहिरिएका र स्वतन्त्र आकाशमा छुट्टै अनुभूति भएको बताउँछन् । एमालेमा रहँदाका सैद्धान्तिक मत भिन्नताका कारण कहिल्यै पनि स्वतन्त्र अनुभूति नभएको र संसद् विघटन भएपछि अझै तनावमा रहेको उनको भनाइ छ।

उनले भने, ‘अनपेक्षित शैलीको विवादबाट मुक्त भएपछि स्वतन्त्र भएको अनुभव भएको छ। नेकपा बनुन्जेलसम्म पनि उकुसमुकुसमै थिएँ । संसद् विघटनपछि अझै तनाव भयो । आफैले बनाएको पार्टी भित्र लोकतान्त्रिक अभ्यासको त्यो दुर्गति हुन्छ भन्ने सोचेको थिएन । जसरी अघि बढौला भन्ने सोचेको थिए भएन ।’

अघिल्ला निर्वाचनमा रुपन्देही क्षेत्र नं.१ का मतदाता भए पनि क्षेत्र नं.३ बाट चुनाव लड्दै आएका उनलाई अहिले आफ्नै गृह क्षेत्रबाट निर्वाचन लड्ने सोच पलाएको छ। स्थानीयका समस्याका बारेमा सम्बोधन नभएपछि पार्टी छोडेर स्वतन्त्र भए पनि उठ्नु पर्ने अवस्था आएको उनको भनाइ छ। उनले संविधानको रक्षा गठबन्धनले मात्र गर्ने भन्दै बाँकी ठाउँमा पनि गठबन्धनलाई जिताउन आग्रह गर्छन्।

कस्तो छ अवस्था ?

सत्ता गठबन्धनले सहयोग गरेपछि अहिले भुसाल निर्वाचन जित्नेमा ढुक्क छन् । २०७४ सालको निर्वाचनमा एमालेका छविलाल विश्वकर्माले ३४ हजार बढी मत ल्याएर जितेका थिए। अहिले पार्टी परित्याग गरेपछि रुष्ट रहेको एमालेको मत पनि पाउनेमा उनी विश्वस्त छन्।

गत वैशामा भएको स्थानीय तह निर्वाचनमा रुपन्देही १ मा कांग्रेसले ३२ हजार ९ सय ९९ मत पाएको छ। राप्रपाको १४ हजार ५ सय ५२, जसपाको ६ हजार ६ सय ९५, माओवादीको ४ हजार २ सय २, नेकपा एसको १ हजार २ सय ४३ र लोसपाको ३ सय २५ मत रहेको छ।

यस क्षेत्रमा एमालेको जम्मा ३० हजार ३ सय ९४ मत रहेको छ। सत्ता गठबन्धनको जम्मा मतमा एमालेको असन्तुष्ट पक्षको मत थपिने छ। राप्रपा निर्याण रहेकाले एमालेलाई साथ दिएका कारण एमालेको मत थप १४ हजार थपिएको छ । जसपाले पनि एमालेका उम्मेदवार दिएका कारण एमाले गठबन्धनको जम्मा मत ५१ हजार हुन्छ। तर, एमालेको कति मत भुसालले पाउँछन् भन्ने विषय फरक हो। एमालेलाई दुवै दलले साथ रहेमा गठबन्धनसँग एमालेको मतान्तर १२ हजार हुन्छ। भुसालले एमालेको १२ हजार बढी मत लिन सकेको अवस्थामा मात्र उनले एमालेको सेखी झार्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार