नेभिगेशन
विज्ञान प्रविधि

प्रहर भनेको के हो ? मानिसले कुन प्रहरमा के नगर्ने ? के गर्ने ?

दिन र रात गरी २४ घण्टाको समयमा ८ प्रहर हुन्छ । एक प्रहरमा करिब ३ घण्टा वा ७ घडी हुन्छ जसमा २ मुहूर्त हुन्छन् । दिनको ४ र रातको ४ गरी जम्मा आठ प्रहर हुन्छ ।

प्रहरको नाम दिनको ४ प्रहर : पूर्वाहृन, मध्याहृन, अपराहृन एवं सायंकाल रातको ४ प्रहर : प्रदोष, निशिथ, त्रियामा एवं उषा

यी प्रहरले मानिसको जीवन तथा प्रकृतिमा प्रभाव पार्ने गर्दछ । ज्योतिष शास्त्रमा कुन प्रहरमा कुन काम गर्नु हुँदैन भन्ने कुराहरु बताइएको छ ।

पूर्वाहृन सूर्योदयको समयमा दिनको पहिला प्रहर प्रारम्भ हुन्छ जसलाई पूर्वान्ह भनिन्छ । यो बिहान ६ देखि ९ बजेसम्म हुन्छ । यो प्रहर आंशिक रूपले सात्विक एवं राजसिक हुन्छ । तर नकारात्मक हुँदैन । यस प्रहरमा सुत्नु तथा सम्भोग गर्नु वा क्रोध गर्नु, कटु वचन बोल्नु, घर झगडा गर्नु समेत वर्जित छ । यो प्रहरमा घर फोहोर पार्नु हुँदैन । यो बेला घरमा चन्दन एवं गुलाफको सुगन्ध फैलाइयो भने सुख शान्ति कायम भइरहने मान्यता छ ।

मध्याहृन दिनको दोस्रो प्रहरलाई मध्याहृन भनिन्छ । यो बिहान ९ देखि दिउँसोको १२ बजेसम्म हुन्छ । यो प्रहरमा मानिसको मस्तिष्क बढी सक्रिय हुन्छ । त्यसैले यो बेला काम गर्ने क्षमता वृद्धि हुन्छ । यो प्रहरमा हनुमानलाई रातो फूल चढाएमा सम्पत्ति वृद्धि हुनुका साथै ऋणबाट मुक्ति मिल्ने ज्योतिषय मान्यता छ । तर यो प्रहरमा मांगलिक कार्य गर्न भने नहुने मान्यता छ ।

अपराहृन दिनको तेस्रो प्रहरलाई अपराहृन भनिन्छ । यो दिउँसोको १२ बजेदेखि ३ बजेसम्म हुन्छ । यो प्रहरमा भोजन गर्नु राम्रो मानिन्छ भने सुत्न र नुहाउन उचित मानिदैँन । यो प्रहरमा नयाँ कामको सुरुवात गर्नु भने राम्रो मानिन्छ । ज्योतिष शास्त्रका अनुसार यो समयमा भगवान् श्रीकृष्णको उपासना गर्दा सन्तान नहुने समस्या समाधान हुने मान्यता छ ।

सायंकाल दिनको चौथो र अन्तिम प्रहरलाई सायंकाल भनिन्छ । यो दिउँसो ३ देखि साँझ ६ बजेसम्म हुन्छ । यो प्रहरमा विश्राम गर्न सकिन्छ । तर खान, सुत्न तथा कुनै पनि नयाँ काम सुरु गर्न भने हुदैँन । ज्योतिष शास्त्रअनुसार यो समयमा नियमित रुखबिरुवामा पानी हालियो भने आमाबाबु तथा बालबालिकासँगको सम्बन्ध राम्रो रहन्छ ।

प्रदोष रातको प्रथम प्रहरलाई प्रदोष प्रहर भनिन्छ । यो साँझको ६ देखि बेलकाको ९ बजेसम्मको समय हो । यो प्रहरमा कुनै पनि तामसिक कार्य गर्न वर्जित मानिन्छ । साथै झगडा एवं बहस र क्रोध गर्न वर्जित छ । यो समयमा खान र सुत्नु राम्रो मानिदैन । यो प्रहरमा पूजा, प्रार्थना, ध्यान गर्नु र घरको पूजास्थलमा बत्ती बाल्नु शुभ फलदायी मानिन्छ ।

निशिथ रातको दोस्रो प्रहरलाई निशिथ भनिन्छ । यो रातको ९ देखि १२ बजेसम्मको समय हो । यो प्रहरमा फूल टिप्नु, पात चुँड्नु तथा रुख काट्नु हुँदैन । यो प्रहरमा कुनै किनमेल पनि गर्नु हुँदैन । यो प्रहरमा बनाइएको खानेकुराको केही अंश पशुलाई खुवाइयो भने आर्थिक फाइदा मिल्न सुरु हुने मान्यता छ ।

त्रियामा रातको तेस्रो प्रहरलाई त्रियामा भनिन्छ । यो मध्यरातको १२ देखि बिहानको ३ बजेसम्मको समय हो । यो प्रहरमा पूर्ण विश्राम गर्नु पर्दछ । यो प्रहरमा खान, नुहाउन तथा ध्यान गर्न वर्जित छ । यो प्रहरमा गरिएको प्रार्थना भने शिघ्र फलदायी हुने बताइएको छ ।

 उषाकाल रातको ३ देखि बिहान ६ बजेसम्मको समयमा अन्तिम प्रहर पर्दछ । यो प्रहरलाई उषाकाल वा उषा प्रहर भनिन्छ । यो प्रहरमा कुनै खानेकुरा खान, पानी पिउन वर्जित छ । यो समयमा उठेर नित्यकर्म पूरा गरिसकेपछि पूजा, अर्चना, जप, ध्यान आदि गर्दा लाभ मिल्ने मान्यता छ । यस्तै ज्योतिष शास्त्रअनुसार यो प्रहरमा नियमित शिवलिंगमा जल चढाउँदा जीवनका सम्पूर्ण समस्या हट्ने धार्मीक मान्यता छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्