नेभिगेशन
समाचार

कोमल वली विवादमा, विद्यार्थीसँग चुनावी छलफल गरेको फोटो सार्वजनिक

काठमाडौँ– दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी कोमल वलीले चुनावी अभियानका बेला विद्यार्थीहरूसँग छलफल गरेका फोटो सार्वजनिक भएको छ। गत कात्तिक १५ गते बबई गाउँपालिका वडा नम्बर १ गंगटेको सरस्वती जनता माविमा वलीले विद्यार्थीहरूसँग छलफल गरेकी थिइन्। चुनावका बेला विद्यार्थीहरूसँग छलफल गरेपछि आचारसंहिता उल्लङ्घन गरेको भन्दै आलोचना भइरहेको छ। वलीले भने विद्यालयको आग्रहअनुसार आफू गएको दाबी गरेकी छन्। ‘विद्यार्थी र विद्यालय परिवारले म जत्तिको एक चर्चित गायिकालाई विद्यालयमा बोलाउनु स्वभाविक हो। विद्यालयभित्र होइन बाहिर मैले कुराकानी गरेको हुँ,’ उनले भनिन्। तर एक विद्यार्थीका अनुसार वली विद्यालय प्राङ्गणमै भएको भेलामा पुगेकी थिइन्। उनले त्यसक्रममा गीतसमेत गाएर सुनाएकी थिइन्। ‘उहाँले मलमल किरी जुनकिरी गीत गाउनुभयो। हाम्रो एकजना साथी नाच्नु पनि भयो। अन्तिममा उहाँले एमाले जिन्दावाद, भोट के मा सूर्यमा भन्ने नारा लगाउनुभएको थियो,’ ती विद्यार्थीले भने।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार