नेभिगेशन
समाचार

जुम्लामा हेलिकप्टरमार्फत मतपत्र आइपुग्यो

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रयोग हुने प्रत्यक्ष र समानुपातिकतर्फका मतपत्र हिमाली जिल्ला जुम्लामा नेपाली सेनाको हेलिकोप्टरबाट बिहीबार आइपुगेको छ । सुर्खेतबाट निर्वाचन आयोगले हेलिकोप्टरबाट मतपत्र जुम्ला ल्याएको निर्वाचन कार्यालय जुम्ला प्रमुख महेश शर्माले जानकारी दिए । नेपाली सेना नन्दबक्स गणका गणपति रवीन थापाका अनुसार बुधबार दुईपटक नेपाली सेनाको हेलिकोप्टरले मतपत्र ओसारेको बताए । गत असोज १९ गतेदेखि परेको अविरल वर्षा र बाढीले कर्णाली राजमार्ग भत्किएकाले हेलिकोप्टरमा मतपत्र ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले जानकारी दिए । काठमाडौँबाट सुर्खेत गाडीमा आएको र सुर्खेतबाट हेलिकोप्टरमार्फत जुम्लामा मतपत्र पुगेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । स्थानीय तहको निर्वाचनमा ठूलो ट्रकमा मतपत्र जुम्ला ल्याइएको थियो । यसपटक कर्णाली राजमार्गको सडक साँघुरो भएकाले हेलिकोप्टरमा ल्याउनुपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन आयोगको समन्वयमा कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट हेलिकोप्टरमा समानुपातिकतर्फको एक लाख ५१ हजार मतपत्र जुम्ला आइपुगेको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार र प्रदेशसभा समानुपातिकतर्फ ७४ हजार मतपत्र जुम्ला ल्याई सुरक्षितसाथ राखिएको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार