नेभिगेशन
समाचार

मतदाता शिक्षाका लागि सात हजार संख्यामा स्वयंसेविका खटाइने

काठमाडौं । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदाता शिक्षाका लागि झन्डै सात हजारको संख्यामा स्वास्थ्य स्वयंसेविका खटाइने भएको छ ।निर्वाचन आयोगले प्रत्येक वडामा एकजनाका दरले स्वास्थ्य स्वयंसेविका खटाउन लागिएको जनाएको छ । शुक्रबारदेखि नै वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सुरु गर्न सबै स्थानीय तहहरूलाई तयारी अवस्थामा राखिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । सबै वडामा एकजना स्वास्थ्य स्वयंसेविकाका दरले मतदाता शिक्षा कार्यकर्ताको रुपमा खटाइने र कुनै वडामा अपुग भए सम्बन्धित स्थानीय तहले नै थप जनशक्तिको व्यवस्था गर्ने पनि अर्यालले बताए । यसरी खटिने स्वास्थ्य स्वयंसेविकाहरूलाई स्थानीय तहले नै पारिश्रमिक उपलब्ध गराउने छ, मतदाता शिक्षा कार्यक्रम मसिंर एक गतेसम्म सञ्चालन गरिनेछ । त्यस्तै, निर्वाचनलाई आपांगमैत्री बनाउन आयोगले एकसयवटा मतदान केन्द्रलाई अपाङ्गमैत्री मतदान केन्द्र बनाउने भएको छ । ती मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेवुल तथा कुर्सीको व्यवस्था गरिने भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार