आइतबारदेखि सुरु हुने प्रधानमन्त्री कपको तयारी पूरा

बुधबार, मंसिर ७, २०७९
काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता भोलि अर्थात आइतबारबाट सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा कात्तिक १३ देखि २६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेटको तयारी पूरा भएको हो । प्रतियोगिताको लागि सबै तयारी पूरा भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए। यसअघि कात्तिक १२ गतेदेखि नै सुरु गर्ने भनिएपनि चाडपर्वले गर्दा प्रतियोगिता एक दिन पछि सुरु हुने भएको उनले बताए। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ । दुवै समूहको लिग खेलपछि शीर्ष दुई—दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल विजेता दुई टिमबीच कात्तिक २६ गते त्रिवि क्रिकेट मैदानमा फाइनल खेल हुनेछ । उद्घाटन खेलमा कात्तिक १३ गते आइतबार समूह एमा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । यस्तै कात्तिक १३ गतेनै समूह बी मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ । यसअघि हरेक टिमलाई ६ खेल खेल्ने अवसर दिने र विजेता र उपविजेतासहित अन्य पोजिसन पनि छुट्याउने गरी खेल गराउने तयारी भएपनि समूह चरणपछि सेमिफाइनल र फाइनल खेल मात्र हुने भएको छ । प्रधानमन्त्री कपको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने दुवै टिमले ५०—५० हजार तथा म्यान अफ दि सिरिजले पनि ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार