नेभिगेशन
समाचार

४ दिने अभियान लिएर झापा जाँदै ओली

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियान तथा प्रचारका क्रममा आज झापा जाने भएका छन्। ४ दिनसम्म उनी मतदातासँगको भेटघाट, कार्यकर्ता भेलामा सहभागी हुने बताइएको छ।

एमालेका अनुसार ओली दिउँसो २ बजे भद्रपुर विमानस्थल उत्रिनेछन्। शुक्रबार अपरान्ह स्थानीय सिटी गार्डेन होटलमा आयोजना हुने एमाले–राप्रपाको संयुक्त भेलालाई उनी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन्।

अध्यक्ष ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने २ वटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ। एमालेको अनुसार ओलीले क्याम्पस मोडमा दमक वडा नम्बर ५, ८ र ९ र ५ का मतदातासँग अपरान्ह ४ बजे र दमकस्थित पशुपति मन्दिरमा वडा नम्बर ६ र ७ का मतदातासँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

शनिबार दमक–३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया आयोजना गरिएको छ। यसैगरी कमल गाउँपालिकाको बाह्रघरेमा शनिबार मध्यान्ह मतदाता तथा कार्यकर्ता भेला राखिएको छ। दिउँसो २ बजे वडा ९ र १० को संगम चोकमा भेला छ। अपरान्ह ४ बजे वडा १ र २ का बासिन्दासँग हिमालय माध्यमिक विद्यालयमा भेटघाट र अन्तरक्रिया छ।

कात्तिक १३ गते गौरादह र गौरीगञ्जकेन्द्रित कार्यक्रम छ। कात्तिक १४ गते बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा भेला आयोजना गरिएको छ। प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्तालाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको छ।

चुनावी तालमेलमा रहेको राप्रपाले पनि कार्यकर्तालाई सहभागी हुन निर्देशन दिएको छ। भेलामा ‌ओलीलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा जनजीविकाका सवालसँग सम्बन्धित सुझाव दिन सकिने बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार