नेभिगेशन
समाचार

प्रदेशसभातर्फ ३४७ जनाको उम्मेदवारी खारेज, कुन पार्टी को-को (सूचीसहित)

काठमाडौं - प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि पेस भएको बन्दसूचीबाट नेपाली कांग्रेसका ३ जनाको उम्मेदवारी खारेज भएको छ ।

७ वटै प्रदेशसभामा लागि पेस भएको बन्दसूचीबाट साधना बिसी (विश्वकर्मा)को उमेर नपुगेका कारण, मोहम्मद सईद खाँको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको र अंशुकुमारी सिंहको मतदाता नामावलीमा नाम नभएका कारण हटाइएको निर्वाचन आयोगले जनाएको छ।

नेकपा (माओवादी केन्द्र)बाट बन्दसूची पेस भएका मध्येबाट ११ जनाको नाम हटेको छ। जसमा ८ जनाले जरिमाना नबुझाएको, २ जनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको, एकजना दोहोरो उम्मेदवार परेको पाइएको छ।

नेकपा (एकिकृत समाजवादी) बाट पनि ११ जना अयोग्य पाइएका छन्। जसमा ९ जनाले आयोगबाट लागेको जरिम्ँना नबुझाएका कारण र एकजनाको उमेर नपुगेका कारण निर्वाचन आयोगले खारेज गरेको हो ।

जनता समाजवादी पाटी (जसपा) नेपालका १३ जनाको नाम खारेज भएको छ। उनीहरूमध्ये जरिमाना नबुझाएका १० जना र ३ जनाको सम्बन्धित प्रदेशको मतदाता नभएको पाइएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको १८ जनाको उम्मेदवारी खारेज भएको छ। जसमा १२ जना जरिमाना नतिर्ने, तीनजनाको दोहोरो उम्मेदवारी, २ जनाको बन्दसूची र मतदाता नामावलीमा लैंगिक पहिचान फरक परेको कारण, एकजनाको उमेर नपुगेको आयोगले जनाएको छ।

यस्तै उम्मेदवारी खारेजीमा पर्ने राप्रपाका १४ जना छन्। जसमा १० जनाले जरिबाना नबुझाएको, २ जना दोहोरो उम्मेदवार, एकजनाको उमेर नपुगेको र एकजना सम्बन्धित प्रदेशबाट नभएकाले अयोग्य ठहरिएका छन्।

नेकपा (एमाले) को भने प्रतिनिधिसभाजस्तै बन्दसूची सबै कायम भएको छ। ७ प्रदेशमा एमालेले २२० जनाको नाम पेस गरेको थियो।

निर्वाचन आयोगले समानुपातिकतर्फका ५५० जनाको उम्मेदवारी खारेज गरेको छ। जसमा निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ २०३ जना र प्रदेशसभातर्फ ३४७ जना छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार