नेभिगेशन
जीवनयापन

जान्नुहोस्, अनरसा पकाउने सजिलो विधि

काठमाडाैँ - तिहारको परिकार भन्ने बित्तिकै सेल रोटी र अनरसा पर्दछ । अनरसा पनि सेल रोटी जस्तै चामलको पिठोबाट बन्ने परिकार हो । तर गुलियो–मिठो परिकार अनरसा पकाउन भने सेल रोटी जति सजिलो छैन । यसमा केही समय दिनुपर्ने हुन्छ । अनरसा पकाउन सामान्यतया एक रात पिठो भिजाएर राख्ने र अर्को दिन पकाउने गरी दुई दिन तयारी गर्नुपर्छ । अनरसा एकतर्फी पाक्ने रोटी हो । यो कसरी पकाउन नजान्नेलाई तलको टिप्स उपयोगी हुन सक्छ । आवश्यक सामग्री ः – ताई वा कराई – १ थान – भिजाएर पिसेको चामलको पिठो – आधा केजी – घ्यू वा तेल – १ केजी – एक चम्चा जिराको धूलो – कागतीको रस – १ सय मिलिलिटर – सेतो तिल – ५० ग्राम – चिनी – स्वाद अनुसार – किसमिस काटेको – ५० ग्राम – सुकेको नरिवलको मसिनो टुक्रा – २० ग्राम बनाउने तरिका: – सबभन्दा पहिले मसिनो गरी पिसिएको भिजेको चामलको पिठो चाहिन्छ । – एउटा गहिरो स्टिलको सानो बाटा वा डेक्चीमा यो पिठोलाई राख्ने । – यसमा आवश्यक मात्रामा चिनी र कागतीको रस राखेर केही बेर मज्जाले माड्ने । – चिनी, कागतीको रस र पिठो राम्ररी मिसिएपछि यसमा नरिवल र किसमिस पनि हाल्ने । – यसलाई पनि राम्ररी मिसाएपछि पिठोलाई हत्केलाले बलियो गरी दबाउने । – अब कसिलो भएर सबैतिर दबिएपछि पुरै भाँडो छोपिने बिर्को लगाउने । – यो मिश्रणलाई रातभर वा ६–७ घण्टा छाडिदिने । जसले चिनी राम्ररी पग्लिएर पिठो भिज्छ र डल्ला बनाउन सहज हुन्छ । – यसरी भिजेको थोरै थोरै पिठो लिँदै हातमा घ्यू दलेर मुछ्दै जाने । यसरी मुछ्दा पिठोको डल्ला चिल्लो र नरम हुनुपर्छ । – अब पिठोको डल्लोलाई प्लेटमा राखिएको तिलमाथि राख्ने र बिस्तारै पिठोको डल्लोलाई हातले थपथपाउँदै रोटीको आकार दिने । – यसरी रोटी बनाउँदा धेरै बाक्लो वा पातलो बनाउनु हुँदैन । – अब हावा नलाग्ने स्थानमा कम आँचमा ग्यास बाल्ने र ताई वा कराइ घ्यू तताउने । – तातेको घ्यूमा अघि आकार दिइएको अनरसालाई तिल माथितिर फर्किने गरी हाल्ने । – अब बिस्तारै कराइको तातो घ्यू पन्युँले तिल भएको भागमाथि हाल्दै अनरसा पाक्न दिने । – पन्युँले घ्यू उघाउँदा अनरसामा लागेर नबिग्रियोस् भन्नेमा पनि ध्यान दिनुपर्छ । – अनरसा एकतर्फी मात्र पकाउनुपर्छ, फर्काउन हुँदैन । – अब अनरसाको माथिल्लो भाग रातो रङ देखिएपछि बिस्तारै चेप्टो पन्युँले निकाल्ने । यसरी बनाइएको अनरसा सेलाएपछि खान तयार हुन्छ । यो तरकारी वा अचार वा मासुसँग पनि खान मिल्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्