गठबन्धनले बहुमत ल्याएर सरकार बनाएपछि टिकट नपाउनेलाई अवसरै अवसर हुन्छः प्रचण्ड

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले बहुमत ल्याएर सरकार बनाएपछि टिकट नपाउने नेता कार्यकर्तालाई अवसरै अवसर हुने बताएका छन् । शनिबार विराटनगरमा आयोजित सत्तारुढ गठबन्धनको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘म सबै साथीहरुलाई के अपिल गर्न चाहन्छु भने हेर्नुस् गठबन्धनले जितेर बहुमत आएर सरकार बन्यो भने अवसरै अवसर हुन्छ’, उनले भने, ‘अहिले टिकट नपाउनुभएको या टिकट वितरणमा भन्याजस्तो नभएकोले मन खुम्चिएका साथीहरुलाई पनि भोलि हामी बहुमतको सरकार बनेपछि थुप्रै राजनीतिक नियुक्ति हुन्छन्, संवैधानिक नियुक्ति, राजदूतहरु के के हुन्छन् के के । हारियो भने चाहिँ हामी सबैको हालत खराब ।’ चुनावपछि अवसर पाउँदा अहिले असन्तुष्ट हरु पनि खुशी हुने प्रचण्डले बताए । ‘त्यसकारण अवसरै अवसर प्राप्त गर्ने, अहिले भाँचिएका अलिअलि थिचिएका, अलि अलि अध्यारो अनुहार भएका साथीहरु पनि सरकार बनेपछि नियुक्ति पाइसकेपछि उज्याला हुन्छन्’ प्रचण्डले भने ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्