यो गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन हो : प्रचण्ड

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ - माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचनमा भएको गठबन्धन १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन भएको बताए । विराटनगरमा आज आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यो निर्वाचनमा २ फरक–फरक प्रवृत्तिबीच प्रतिस्पर्धा हुन लागेको समेत बताए।

मंसिर ४ मा १२ बुँदे सहमतिको पक्षपातीहरूको गठबन्धन र अर्को गोरूगाडावाला गठबन्धन भएको बताए। त्यसकारण मंसिर ४ गते एउटा ठूलो संग्राम हुने बताए।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप लगाए। विस्तृत शान्ति सम्झौता र संविधान रक्षाका लागि कांग्रेससहितको गठबन्धन निर्माण गरिएको उनले बताए।

‘हामी एक ढिक्का छौं, तपाईंहरू पनि एकताबद्ध हुनुहोला। भोट रूखमा, हँसिया हथौडा, कलम सबैमा एकआपसमा हाल्नुहोला’ उनले कार्यकर्ताहरूलाई आह्वान गरे। अध्यक्ष प्रचण्डले चुनाव जिते अवसर नै अवसर प्राप्त हुने समेत बताउँदै ठूलठूलो राजनीतिक परिवर्तन भएपनि जनतालाई सम्मृद्दि र सुशासन दिन नसकिएको स्वीकार गरे। उनले अहिले परिवर्तन उल्ट्याउने खतरा रहेको बताउँदै भने, ‘त्यसकारण अब समृद्धि र सुशासन, उद्योग स्थापना, श्रमजीवीलाई न्याय र समृद्धि दिनैपर्छ।’

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्