थोरै समय शासन गर्ने विश्वका नेताहरू

बिहीबार, मंसिर १, २०७९
काठमाडौं-लिज ट्रसः ब्रिटिश प्रधानमन्त्रीको ४५ दिने शासन छोटो समय पदमा रहेका संसारका अरू नेताहरूसँगको तुलनामा कति हो? लिज ट्रस ब्रिटिश इतिहासकै सबभन्दा छोटो कार्यकाल भएकी प्रधानमन्त्री बनेकी छन् । लिज ट्रसको बहिर्गमनपश्चात् अब यूकेमा विगत छ वर्षमा (कम्तीमा) पाँच फरक प्रधानमन्त्री नियुक्त भइसकेका छन् । त्यो त कुनै विश्व कीर्तिमान नै होइन र ?तर होइन । आर्जेन्टिनाका मानिसलाई सोध्नुभयो भने उनीहरूले भनिदिनेछन् त्यहाँ एकताका पाँच भिन्नाभिन्नै राष्ट्रपति नियुक्त भएका थिए जम्मा दुई साताभित्र ! हो, ट्रसको ४५ दिने कार्यकाल भनेको ब्रिटिश राजनीतिक इतिहासमा सबभन्दा छोटो हो । तर विश्वका अन्य नेताहरूसँग तुलना गर्दा यो त निकै लामो कार्यकाल लाग्न सक्छ । एक रातका निम्ति नियुक्त भएका एक जर्मन नाजी चान्सलर । निकै कुख्यात गोयबल्स १२ वर्षसम्म नाजी जर्मनीको प्रोपागान्डा मन्त्री थिए – तर उनी चान्सलर भने केवल १ दिनका लागि बने । जोसेफ गोयबल्स नाजी शासनअन्तर्गतको जर्मनीमा सन् १९३३ देखि १९४५ सम्म १२ वर्षसम्म प्रोपागान्डा मन्त्री रहे । तर थोरै मात्र मानिसलाई थाहा छ कि उनी चान्सलरको पदमा पनि पुगेका थिए – तर केवल एक दिनका लागि । युरोपमा द्वितीय विश्वयुद्धका अन्तिम दिनहरूका बेला सन् १९४५ को एप्रिल ३० मा बर्लिनस्थित भूमिगत बङ्करमा एडल्फ हिटलरले आत्महत्या गरे । उनी पछिको कमान्डमा रहेका गोयबल्स चान्सलर भए । तर लगत्तै गोयबल्स र उनकी पत्नीले तिनका छ जना सन्तानलाई साइनाइड नामक विष दिएर मारे अनि आफूले पनि आत्महत्या गरे । अमेरिकाका नवौँ राष्ट्रपति ह्यारिसन केवल ३२ दिन शासनमा रहे । विलियम हेनरी ह्यारिसन (१७७३–१८४१) को नाममा दुईवटा नमिठा कीर्तिमान छन् । आफ्नो कार्यकालकै बेला निधन हुने अनि सबभन्दा छोटो समय अमेरिकाको राष्ट्रपति हुने रेकर्ड उनको रह्यो । भूतपूर्व सैन्य अधिकृत ह्यारिसनलाई ६८ वर्षको उमेरमा निमोनिया भयो र कार्यकाल सम्हालेको ३२ दिनमै उनको निधन भयो । फर्नान्डो डे ला रुआको राजीनामापछि सन् २००१ मा आर्जेन्टिनामा लगालग थुप्रै राष्ट्रपति नियु्क्त भए । सन् २००१ को डिसेम्बरमा आर्जेन्टिनाको परिस्थिति नराम्रो थियोः गम्भीर आर्थिक सङ्कटले सडकमा चर्को विरोध प्रदर्शन हुँदा कम्तीमा २५ जनाको ज्यान गयो । राजनीतिक अस्थिरताका माझ राष्ट्रपति फर्नान्डो डे ला रुआले राजीनामा दिए । त्यसपछि भएका घटनाक्रम अचम्म पार्ने खालको थियो–डे ला रुआलाई सिनेटका बहुमतप्राप्त नेता रामोन प्योर्टाले विस्थापित गरे किनभने उपराष्ट्रपतिको पद पहिलेदेखि नै खाली थियो । दुई दिनपछि प्योर्टा पनि हटे किनभने संसद्ले राष्ट्रपतिको निवास कासा रोसाडाको नेतृत्व गर्न एडोल्फो रोद्रिगेज सा लाई निर्वाचित ग¥यो । तर उनले पनि एक हप्ता नबित्दै राजीनामा गर्नुप¥यो किनभने उनको आपत्कालीन आर्थिक एजेन्डाप्रतिको समर्थन बिलायो । सन् २००१ मा दुई साताभित्र एडुवार्डो डुहाल्डे पाँचौँ राष्ट्रपति नियुक्त भएका थिए । विधानतः प्योर्टा फेरि उक्त पदमा फर्कनुपथ्यो । तर उनले त्यसो गर्न अस्वीकार गरे। उनले सिनेटको नेताको पदबाट समेत राजीनामा दिए । त्यसपछि पालो आयो च्याम्बर अफ डेप्यूटीजका नेता एडुवार्डो कामानोको – जो यो शृङ्खलाका चौथो राष्ट्रपति थिए । तीन दिनपछि उनले पनि पद त्यागे । त्यसपछि संसद्ले एडुवार्डो डुहाल्डेलाई चयन ग¥यो । उनले सन् २००३ मा निर्वाचन नभइन्जेल उक्त पद सम्हाले । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको नाममा सबभन्दा छोटो समय प्रधानमन्त्री भएको कीर्तिमान छ । सन् १९९६ मा चुनावपछि उनी प्रधानमन्त्री त भए तर गठबन्धनको बहुमत पु¥याउन विफल भएपछि १३ दिनमै पदबाट हट्न पुगे । सन् १९९८ मा उनी पुनः प्रधानमन्त्री भए । यस पटक उनको कार्यकाल १३ महिना चल्यो। त्यसपछि गठबन्धन टुट्यो र संसद् भङ्ग भयो । तर वाजपेयीको दल बीजेपीले त्यसपछिको चुनावमा राम्रो प्रदर्शन ग¥यो । अनि उनले सन् १९९९ देखि २००४ सम्म प्रधानमन्त्री भएर शासन चलाए । सियरा लियोनको इतिहासमा सिआका स्टीभन्सको दोहोरो कीर्तिमान छ – सबभन्दा छोटो कार्यकालको प्रधानमन्त्री अनि सबभन्दा लामो कार्यकालको राष्ट्रपति । सन् १९६७ मा भएको कडा प्रतिस्पर्धामा जितेका उनलाई त्यसै दिन सैन्य कूमार्फत् बर्खास्त गरियो र पक्राउ पनि गरियो । तर एक वर्ष नबित्दै स्टीभन्स फर्किएः सैन्य शासनको अन्त्यपश्चात् उनले राष्ट्रपतिको रूपमा सन् १९७१ देखि १९८५ सम्म शासन सम्हाले । तर उनको राष्ट्रपतिकालमा निरङ्कुश शैली तथा मानवअधिकार हननका कैयौँ आरोपहरू लागे। साथै निर्वाचनमा धाँधली गरेका आरोप पनि लाग्यो । अर्को अनौठो कथा दक्षिण अफ्रिकाको छः सन् २००८ को सेप्टेम्बर २४ मा थाबो एम्बेकीको राजीनामापछि तत्कालीन सञ्चारमन्त्री आइभी माट्सेपे–कासाबुरी देशको पहिलो महिला राष्ट्रपति बनिन् । उनको निमित्त राष्ट्रपतिको कार्यकाल जम्मा १५ घण्टाको मात्र थियो । त्यसपछि दक्षिण अफ्रिकाको संसद्ले गालेमा मोतलान्थेलाई राष्ट्रपतिमा चयन ग¥यो । आर्जेन्टिनाको अतिरिक्त ल्याटिन अमेरिकाका अन्य देशमा पनि छोटो समयका राष्ट्रपति देखा परे । मेक्सिकोमा सन् १९१३ मा सैन्य कूले राष्ट्रपति फ्रान्सिस मदेरो सत्ताच्युत भएका बखत पेद्रो लास्कुरेइन एक घण्टाभन्दा थोरै समयका लागि नेता नियुक्त भएका थिए । ब्रजिलमा सन् १९५५ को नोभेम्बर ८ मा च्याम्बर अफ डेप्यूटीजका सभामुख कार्लोस लुज राष्ट्रपति नियुक्त भए । उनी अघिका राष्ट्रपति क्याफे फिल्हो गम्भीर बिरामी परेपछि उनी उक्त पदमा नियुक्त भएका थिए । त्यतिबेला ब्रजिलले नयाँ राष्ट्रपति चयन गरिसकेको थियो । नयाँ निर्वाचित जसेलिनो कुबित्स्चेकको कार्यकाल सन् १९५६ को ज्यानुअरीमा मात्र आरम्भ हुने थियो । तर तीन दिनपछि नै लुजले पद त्यागे । किनभने रक्षा मन्त्रालयले लुजले अस्थायी हैसियतमा रहँदाखेरि नै कुबित्स्चेकको नियुक्ति रोक्न कूको षड्यन्त्र गरेको आरोप लगायो । बाँकी दुई महिनाको निम्ति सिनेट नेता नेरेउ रामोसले सो पद सम्हाले । राजारानीहरूले निर्वाचन लड्नुपर्दैन । अहिलेको आधुनिक कालमा गणतान्त्रिक क्रान्तिहरूबाट पनि उनीहरू तुलनात्मक रूपमा सुरक्षित नै छन् । तर त्यसो भन्दैमा उनीहरूको शासनकाल लामो नै हुन्छ भन्ने छैन । नपत्याए इटलीका राजा उम्बेर्टो द्वितीयलाई हेर्नुहोस्–सन् १९४६ मा पिता भिट्टोरियो एमानुएलले गद्दीत्याग गरेपछि उनी राजा भए । देशमा विस्तार भइरहेको राजतन्त्र विरोधी मतलाई मत्थर पार्न उनले जनमतसङ्ग्रह गराए । तर उनको निम्ति परिणाम सुखद आएन । करिब ५४% जनताले गणतन्त्रको पक्षमा मत दिए। उम्बेर्टोको शासन केवल ३४ दिनको रह्यो । अझ छोटो अनि दुःखान्त शासन नेपालका राजा दीपेन्द्र वीर विक्रम शाहको थियो । सन् २००१ को जुन १ मा तत्कालीन युवराजले आफ्ना मातापिता अनि राजपरिवारका अन्य सदस्यको गोली हानी हत्या गरिदिए । आफूले चाहेको महिलासँग विवाह गर्न नपाएको रिसमा उनले त्यसो गरेका आरोप लागेको छ । ती हत्यापछि दीपेन्द्रले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरे । तर उनको मृत्यु तत्काल भएन । उनी कोमामा पुगे र तीन दिनपछि उनको निधन भयो । उक्त अवधिभरि प्राविधिक रूपमा उनी नेपालको राजा भए । तर राजाहरूमध्ये सबैभन्दा छोटो कार्यकालको रेकर्ड भने सम्भवतः फ्रान्सका लुई उन्नाइसौँको नाममा छ । सन् १८३९ को अगस्ट २ मा उनका पिता राजा चार्ल्स दशौँले राजाविरुद्ध व्यापक प्रदर्शनका कारण गद्दीत्याग गरेपछि उनी राजा भए । तर लुई उन्नाइसौँले केवल २० मिनेटपछि गद्दी त्यागे। उनले भतिज ड्यूक अफ बोर्दोका निम्ति शासन छाडिदिए । .  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्