प्रतिनिधिसभामा माओवादीको तर्फबाट सबैभन्दा बढी महिला उम्मेदवार

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आगामी मंसिर ४ गतेका तय भएको प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रबाट सबैभन्दा बढी महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ अनुसार माओवादी केन्द्रबाट १७ प्रतिशत महिला उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । आगामी निर्वाचनमा भाग लिएका ६२ दलमध्ये सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने पार्टीका रुपमा नेकपा (माओवादी केन्द्र) बनेको छ।

नेकपा ‍(माओवादी केन्द्र)बाट सबैभन्दा बढी १७ प्रतिशत महिलाको उम्मेदवारी रहेको छ । आगामी निर्वाचनपछि आफुलाई दोस्रो पार्टी हुने दाबी गर्दै आएको सत्तारुढ नेकपा (माओवाद केन्द्र)ले ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। माओवादीले जम्मा उम्मेदवारीको १७ प्रतिशत अर्थात ८ जना महिला उम्मेदवार उठाएको छ।

त्यस्तै माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले भने २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा सबैभन्दा कम अर्थात ४ प्रतिशत अर्थात १ जना मात्रै महिला उम्मेदवार उठाएको छ।

६२ वटा राजनीतिक दल र स्वतन्त्र सहित प्रतिनिधिसभामा २ हजार ४१२ उम्मेदवार रहेको छ । जसको ९ प्रतिशत अर्थात २२५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । जम्मा उम्मेदवारीको ९१ प्रतिशत अर्थात २ हजार १८७ पुरुषकै परेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

नेकपा (एमाले)ले सबैभन्दा बढी १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा महिलालाई भने उपेक्षा गरेको छ। जम्मा उम्मेदवारीको ७ प्रतिशत मात्रै अर्थात ११ जना महिला उम्मेदवार उठाएको छ।

दोस्रोमा राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा महिलालाई उपेक्षा गर्दै ५ प्रतिशत अर्थात् ८ जना मात्रै महिला उम्मेदवार उठाएको छ ।

तेस्रोमा सबैभन्दा बढी रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ९ प्रतिशत अर्थात १२ जना महिला उम्मेदवार उठाएको छ। चौथोमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १०९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १२ जना महिला उठाएको छ। नेकपा (एमाले) र राप्रपा भन्दा बढी महिलाको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी र नेमकिपाबाट परेको छ।

अहिलेको सत्तारुढ दल अर्थात आगामी निर्वाचनमा आँफू सबैभन्दा पहिलो दल हुने दाबी गरिरहेको नेपाली कांग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ५ प्रतिशत अर्थात ५ जना मात्रै महिला उम्मेदवार उठाएको छ।

मंगोल नेशनल अर्गनाइजेशनले ८८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १० जना महिला उम्मेदवार उठाएको छ ।

जनता समाजवादी पार्टी (जसपा)ले ७९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ८ प्रतिशत अर्थात ७ जना महिला उम्मेदवार उठाएको छ। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ५८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा १० प्रतिशत अर्थात ६ जना महिला उठाएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले ५१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ५ प्रतिशत अर्थात ३ जना महिला उठाएको छ। लोसपाले पनि अन्य राजनीतिक दलको तुलनामा कम अर्था नेपाली कांग्रेसकै जति महिला उम्मेदवार उठाएको छ।

स्वतन्त्रबाट ३५ प्रतिशत अर्थात ८६७ जनाको उम्मेदवारी दर्ता हुँदा ८ प्रतिशत अर्थात ७७ जना महिलाले स्वतन्त्र प्रतिस्पर्धाको लागि तयार भएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्