केही दिनपछि आयोगको निर्णयले ठूलो भूकम्प ल्याउँछ : प्रमुख निर्वाचन आयुक्त थपलिया

बिहीबार, मंसिर १, २०७९
विराटनगर—प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा आयोग दृढ रहेको बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरङ्गित भएको अवस्थामा ८÷१० दिनपछिको आयोगको निर्णयले ठूलो भूकम्प नै ल्याउन सक्ने बताए । ‘स्पष्टीकरण सोध्नु कारबाही होइन, कारबाही प्रक्रियाको सुरूवात मात्रै हो,’ उनले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा आयोग दृढ छ, कारबाही गर्नबाट पछि हटदैन ।’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई सोधिएको स्पष्टीकरणले अहिले तरङ्ग उत्पन्न भएको छ । निर्वाचन आचारसंहिता कसुर ऐनको दफा २० ले कुनै पनि प्रलोभन दिन नहुने भनिएकोले आचारसंहिता उल्लङघनभन्दा ठूलो कसुर भएकाले कारबाहीका लागि सिफारिस गरिएको थपलियाको भनाइ छ । दलहरू आफैंले बनाएको कानुन कार्यान्वयन आयोगले गराउने काम मात्र गरेकाले कानुन कार्यान्वयन गर्न उनले सबैलाई आग्रह गरे । ‘आगामी ४ मङ्सिरमा हुने चुनावमा चुनावी खर्चको सीमा र आचारसंहिता कार्यान्वयन गर्ने कुरा मुख्य चुनौती देखिएको छ,’ उनले भने, ‘दलहरूले आफैंले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउने तर उल्लंघन गर्न नहिच्किचाउने अवस्थामा आयोग टुलुटुलु हेरेर बस्न सक्दैन ।’ उनले स्थानीय तहको चुनावमा अनुभूत गरेका समस्या यो चुनावमा दोहोरिन नदिने बताए । सामाजिक सञ्जाल नियमनको अवस्था आएकाले त्यसका लागि विज्ञ टोली खटाएर अनुगमनको व्यवस्था गरिएकाले सबैलाई सचेत भएर सामाजिक सञ्जालको उपयोग गर्न थपलियाले आग्रह गरे । उनले पछिल्लो समयका केही समाचारले महिला उम्मेदवारलाई सञ्चारमाध्यमबाट होच्याउने काम भएको प्रति ध्यानाकर्षण भएकाले यसप्रति सञ्चारमाध्यमहरूलाई गम्भीर भएर समाचार सम्प्रेषण गरिदिन पनि आग्रह गरे । महिला उम्मेदवार भएको क्षेत्रमा ’हेबीवेटसँग महिला प्रतिस्पर्धा’ लगायतका शीर्षकको समाचारले महिलालाई होच्याउने काम भएको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्