सुडानमा जातीय हिंसा : १५० जनाको मृत्यु, १०० घाइते

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–अफ्रिकी मुलुक सुडानमा पछिल्ला दुई दिनमा भड्किएको जातीय हिंसामा करिब डेढ सय जना मानिसको मृत्यु भएको छ । सुडानको दक्षिणी ब्लुनाइल राज्यमा जग्गाको स्वामित्व सम्बन्धि विवादमा झडप हुँदा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएका हुन् । मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध–वृद्धाहरु धेरै रहेको स्थानीय अस्पतालले जनाएको छ । सोही घटनामा करिब १ सय जना मानिसहरु घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । सुडानको राजधानी खार्तुमबाट ५ सय किलोमिटर दक्षिणमा पर्ने उक्त राज्यमा गाउँलेहरुका घरमा आगो लगाइनुका साथै मनोमानी ढंगले गोली प्रहार गरेर हत्या गरिएको जनाइएको छ । गत साता पनि उक्त क्षेत्रमा करिब २ सय जना मानिसको मृत्यु भएको थियो । साथै ३ सय बढी मानिस घाइते भएको राष्ट्रसंघीय अधिकारीहरुले बताएका छन् । सोही क्षेत्रमा हौसा र बेर्टा समुदायबीच जग्गाको स्वामित्वलाई लिएर बारम्बार झडपहरु हुँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्