नेभिगेशन
विश्व

‘युक्रेनमा तत्काल युद्धविराम हुने देखिएन, शान्ति सम्झौताका लागि निरन्तर दवाब दिन्छु’-राष्ट्रपति ट्रम्प

एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिबार रुस र युक्रेनबीच तत्काल युद्ध विराम हुने सम्भावनालाई अस्वीकार गरेका छन् । 

ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि तत्काल युद्ध विरामको घोषणा गर्ने प्रयासमा कुनै प्रगति हुन सकेन।

युक्रेन द्वन्द्वका कारण सैनिक तथा गैर-सैनिक गरी दशौँ हजार व्यक्तिको मृत्यु भएको छ र युक्रेनमा यसका कारण भौतिक संरचनामा समेत व्यापक विनाश भएको छ । 

भेटवार्तापछि राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’मा जारी एक सन्देशमा लेख्नुभएको छ,  “अलास्कामा एक महान् र धेरै सफल दिन!” 

“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटवार्ता निकै राम्रो भयो । युक्रेनका राष्ट्रपति जेलेन्स्की र नेटोका अति सम्मानित महासचिवलगायत विभिन्न युरोपेली नेताहरूसँग अबेर राति भएको फोन वार्ताल पनि सकारात्मक काम गरेको छ,” सन्देशमा भनिएको छ।

उनले भने, “भयानक युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो तरिका सबैले निर्धारण गरेका छन् । यसको अर्थ सीधै शान्ति सम्झौतामा जानु हो । यसले युद्धको अन्त्य गर्नेछ ।” 

यसैबीच, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार अमेरिकी नेतासँग भेटवार्ताका लागि वासिङ्टन जाने बताएका छन् । “यदि सबै कुरा सोचेजस्तो भएमा हामी राष्ट्रपति पुटिनसँग बैठक गर्नेछौँ,” ट्रम्पले भने । जेलेन्स्कीले यसअघि सामाजिक सञ्जालमा ट्रम्पको प्रस्तावको समर्थन गरेका थिए ।

उनले लेखेका छन्, “हामी युक्रेन, अमेरिका र रुसबीच त्रिपक्षीय बैठकका लागि राष्ट्रपति ट्रम्पको प्रस्तावको समर्थन गर्दछौँ। युक्रेनले प्रमुख मुद्दाहरू उच्च पदस्थ नेता स्तरीय बैठकमा छलफल गर्न सकिन्छ । यसको लागि त्रिपक्षीय ढाँचा उपयुक्त छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व