पोखरामा प्याराग्लाइडिङ खेलाडी निसिम थापाको सालिक स्थापना गरिने

बिहीबार, मंसिर ८, २०७९

पोखरा - नवौं राष्ट्रिय खेलकुदका दौरान प्रतिस्पर्धाकै क्रममा ग्लाइडर दुर्घटनामा परेर निधन भएका प्याराग्लाइडिङ खेलाडी निसिम थापाको स्मृतिमा पोखरा रंगशालामा अर्धकदको सालिक स्थापना गरिने भएको छ ।

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको राखेप सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए।

उनका अनुसार बीमा रकम बाहेक पनि मृतक खेलाडीलाई सरकारबाट राहत दिन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय पनि भएको छ। राष्ट्रिय खेलकुदमा हरेक खेलाडीको १० लाखको जीवन बीमा गरिएको छ ।

असोज ३० गते प्याराग्लाइडिङको क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुँदै गर्दा सराङकोटमा भएको दुर्घटनामा नेपाल आर्मी क्लबका लागि खेलिरहेका उपाधि दावेदार निसिमको निधन भएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्