आबेको हत्या पछि युनिफिकेशन चर्चमाथि अनुसन्धान

बुधबार, मंसिर ७, २०७९

एजेन्सी – जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्यापछि नेपालमा होली वाइनको नाममा बदनाम युनिफिकेशन चर्चमाथि अनुसन्धान सुरु भएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले पुन युनिफिकेशन चर्चमाथिको अनुसन्धानलाई तीव्रता दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

यसअघि आफ्ना पार्टीका सांसदहरूलाई सो समूहबाट बाहिरिन निर्देशन दिइएको भए पनि आम असन्तुष्टि कम नभए पछि जाँचको आदेश दिइएको हो । गत जुलाई ८ मा जापानको इतिहासमा सबैभन्दा लामो शासन गरेका शिन्जो आबेको हत्यामा चर्चको संलग्नता रहेको खुलेपछि चर्च अनुसन्धानको केन्द्रमा छ । अनुसन्धानदाताका अनुसार, हत्यारा तेत्सुया यामागामीको प्रमुख निशाना थिएनन्, शिन्जो आबे । अनुसन्धानको क्रममा जुलाई ८ आबेलाई गोली हानेर हत्या गर्ने यामागामीले सुरुमा दक्षिण–कोरियाली धार्मिक समूह युनिफिकेशन चर्चका प्रमुखलाई मार्न चाहेको पाइएको छ । ४१ वर्षीय यामागामीले उनको परिवारको आर्थिक विनाशको लागि जिम्मेवार सो चर्चलाई दोषी ठहराएका थिए । तर कोभिड–१९ महामारीको कारण उनले निशाना बदलियो । सन् २०१२ मा युनिफिकेसन चर्चका संस्थापक सन म्युङ मुनको मृत्युपछि चर्चको नेतृत्व गरिरहेकी थिइन् सनकी श्रीमती जा हान मुन । कोरोना महामारीपछि अन्तर्राष्ट्रिय सीमाहरू बन्द भएपछि जा हान मुनको जापानको नियमित आउजाउ बन्द भयो । यामागामीले निशाना बदलेर सिन्जो आबेलाई नै किन चुने त ? हत्यापछि भएको अनुसन्धानले यसको सम्बन्ध गत वर्ष आबेले जारी गरेको एक शुभकामना भिडियोसँग रहेको पाएको छ । उक्त भिडियो सन्देश आबेले युनिफिकेशन चर्चसँग आबद्ध ‘युनिभर्सल पिस फेडरेशन(युपीएफ)को सन् २०२१ म भएको कार्यक्रममा पठाएका थिए । उक्त भिडियोमा आबेले युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनको प्रशंसा गर्दै ‘पारिवारिक मूल्यमाथिको जोड’का समूहलाई धन्यवाद दिएका छन् । पछि सो भिडियो सन्देश हेरेपछि हत्यारा सिन्जोलाई उक्त चर्चको सबैभन्दा ठुला जापानी समर्थक भएको निधोमा पुगे । यामागामीले जुलाई ८ मा आबेलाई घरमा उनैले तयार पारेको बन्दुकले गोली हानेका थिए । त्यसो गर्नु एक दिन अघि नै एक ब्लगरलाई पठाएको पत्रमा यामागामीले ‘हक जा हान मुनलाई मार्न ‘असम्भव’ पाएपछि ‘आफ्नो मूल शत्रु’ नभए पनि ६७ वर्षे आबेलाई गोली हान्ने सोचेको’ उल्लेख गरेका छन् । उनले आबेलाई युनिफिकेसन चर्चको ‘सबैभन्दा प्रभावशाली समर्थकमध्ये एक पाएको’ सोही पत्रमा लेखेका छन् । उनले सो पत्रमा थप लेखेका छन् ,‘अब म आबेको मृत्युले ल्याउने राजनीतिक प्रभाव र परिणामहरूको बारेमा सोचेर बस्ने सक्ने अवस्थामा छैन ।’ आबेको मृत्युपछि मिडिया अनुसन्धानले युनिफिकेसन चर्चसँग आबेको मात्रै होइन उनी आबद्ध एलडीपीका कयौँ नेताको बलियो सम्बन्ध रहेको देखाएको छ । चर्चले आफ्ना जापानी अनुयायीबाट जबरजस्ती चन्दा लिने गरेको र त्यसो गर्न नसक्ने व्यक्तिमाथि दुर्व्यवहार हुने गरेको पनि उजागर भएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १४:२३
प्रतिक्रिया दिनुहोस्