महिला भलिबलको क्वार्टरफाइनल भोलिदेखि

बुधबार, मंसिर ७, २०७९
म्याग्दी–म्याग्दीको बेनीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल प्रतियोगिताको लिग चरण सकिएको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको विजेता र उपविजेता ८ टिम क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको खेलमा एपिएफले आर्मीलाई र बागमती प्रदेशले मधेश प्रदेशलाई पराजित गरे। बागमतीले २५–६, २५–८ र २५–७ अंकले सहज रुपमा मधेश प्रदेशलाई पराजित गर्दै क्वार्टरफाइनलको यात्रा सुरक्षित गरेको हो । सशस्त्र प्रहरीको एपिएफ क्लबले नेपाली सेनासँग २५–२०, १९–२५, २५–२१ र २५–२३ को जित निकाल्यो । एउटै समूहबाट एपिएफले विजेता र सेनाको त्रिभुवन आर्मी क्लबले उपविजेता हुँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् । आइतबार नै भएको खेलमा एपिएफकी निरुता थकुन्ना र बागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । लिग कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणको दुईवटा प्रतिस्पर्धामा पराजित मधेश प्रदेश र कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको जानकारी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले दिए । सोमबार शुरु हुने क्वार्टरफाइनलमा एपिएफ र लुम्बिनी प्रदेश, बागमती र सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । प्रतियोगितामा ७ वटा प्रदेश र ३ वटा विभागीय टोलीले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्