नेभिगेशन
समाचार

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्दै

नवलपरासी–४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यका लागि हुने चुनावमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ । प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोका रुपमा हेरिएको छ भने क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ सत्तागठबन्धनबाट कांग्रेसका विष्णुकुमार कार्की र एमालेका केन्द्रीय सदस्य तिलबहादुर महतबीच प्रतिस्पर्धा हुने देखिएको छ । कोइराला र महत यसअघि पनि क्रमशः क्षेत्र नं १ र २ बाट निर्वाचित भएका हुन् । जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेशसभातर्फ क्षेत्र नं १ को ‘क’ मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्व जजिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रविन्द्र अधिकारी चुनाबी मैदानमा प्रतिस्पर्धा गर्दै छन् । क्षेत्र नं १ को ‘ख’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् । त्यसैगरी क्षेत्र नं २ मा प्रदेशसभातर्फ ‘क’मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका सौगमकुमार सिरपाली र एमालेबाट पद्ममा जिसीको उम्मेदवारीलाई चासोका रूपमा हेरिएको छ भने प्रदेशसभातर्फ ‘ख’मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका डा. गोपाल खनाल र एमालेका लक्ष्मणबहादुर पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ । चुनावको तयारीस्वरूप सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षीदलले बैठक र भेला सुरु गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपालगायतका दलले बैठक र भेलालाई तीव्रता दिएका हुन् । चुनावका लागि नवलपुरमा मतदाताको सङ्ख्या २ लाख ६० हजार ४६१ छ । २ वटा प्रतिनिधिसभा सदस्यको क्षेत्र रहेको जिल्लामा १ लाख २४ हजार ३३६ पुरुष, १ लाख ३६ हजार १२१ महिला र अन्य ४ मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । त्यस्तै निर्वाचन आयोगले जिल्लामा चुनावका लागि ११३ मतदानस्थल र ३०२ वटा मतदान केन्द्र रहने जनाएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा ५७ मतदानस्थल र १५३ मतदान केन्द्र र क्षेत्र नं २ मा ५६ मतदानस्थल र १४९ मतदान केन्द्र रहेका छन् । ६८ जना उम्मेदवार चुनावका लागि ७६ जनाले उम्मेदवारी दर्ता गराएकामा ८ जनाले उम्मेदवारी फिर्ता गरेपछि उम्मेदवारी दिनेको सङ्ख्या ६८ जना पुगेको छ । जिल्लामा जम्मा ५ महिलाले उम्मेदवारी दर्ता गराएका छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार