नेभिगेशन
समाचार

महोत्तरीमा १४३ मतदानस्थल अतिसंवेदनशील

जलेश्वर–महोत्तरीका स्थानीय प्रशासनले जिल्लाका १४३ मतदानस्थललाई अतिसंवेदनशील घोषणा गरेको छ । भारतसँग खुला सीमा जोडिएको अवस्थालाई दृष्टिगत गरी १४३ मतदानस्थललाई अतिसंवेदनशील र ११४ संवेदनशील घोषित गरिएको हो । चुनावलाई मध्यनजर गर्दै यसको आवरणमा हुनसक्ने सम्भावित अवाञ्छित घुसपैठ निस्तेज गर्न सुरक्षा प्रवन्ध सुदृढ गरिँदै लगिएको प्रमुख जिल्ला अधिकारी दीपक पहाडीले बताए । ‘स्थानीय प्रशासन अहिलेदेखि नै चुनावसम्बद्ध सुरक्षा प्रबन्धमा जुटेको छ’, उनले भने, ‘चुनाव सुरक्षा प्रबन्धका लागि अहिलेदेखि नै १ हजार ५०० नेपाल प्रहरी र २ हजार ८०० म्यादी प्रहरी परिचालित भइसकेका छन् ।’ यसबाहेक सशस्त्र प्रहरी र नेपाली सेना पनि निर्वाचन सुरक्षामा आवश्यकतानुसार परिचालित गरिने छ । ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा चुनावका लागि २५८ मतदानस्थल र ४९९ मतदान केन्द्र निर्धारण गरिएका छन् । जिल्लाका सबै मतदानस्थलको वस्तुस्थिति बुझी राख्न सुरक्षा निकायसहितको अनुगमन निरन्तर जारी राखिएको छ । ‘हामी (जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना) निरन्तर सबै मतदान केन्द्रको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे सचेत छौँ’, प्रजिअ पहाडी भन्छन्, ‘करिब ३९ किलोमिटर भारतीय सीमासँग जोडिएको हुँदा जिल्लासँग जोडिएका भारतीय जिल्ला मधुवनी र सीतामढीका सुरक्षा अधिकारीसँग पनि सीमा सुरक्षाबारे निरन्तर संवादमा छौँ ।’ जिल्लाको भौगोलिक अवस्थिति, सामाजिक परिवेश, आपराधिक गतिविधिलगायतका आधारमा मतदानस्थल र मतदान केन्द्रलाई तीन तह (अतिसंवेदनशील, संवेदनशील र सामान्य)मा वर्गीकरण गरी सोहीअनुरूप सुरक्षा व्यवस्था प्रबन्ध गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । चुनाव तयारीसँगै जिल्ला सुरक्षा समितिले योजनाबद्ध जनसम्पर्क बढाएको जनाएको छ। आम जनतासँगको प्रत्यक्ष साक्षात्कारबाट सुरक्षा अवस्थाबारे थप जानकारी प्राप्त हुँदै गएको र आम जनतामा पनि सुरक्षा व्यवस्थाबारे विश्वास बढेको पाइएको छ । महोत्तरीमा २२६ उम्मेदवार निर्वाचन चिह्न प्राप्त गरी चुनावी प्रचारमा लागिसकेका छन् । दलका नेता, उम्मेदवार र कार्यकर्ताको सघन गतिविधिले जिल्लामा चुनावी माहोल तात्दै छ । जम्मा ३ लाख ९७ हजार ३० मतदाता छन् । जसमा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र १ तेस्रोलिङ्गी (अन्य) रहेका जिल्ला निर्वाचन कार्यालय महोत्तरीले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार