काठमाडौँ— आगामी संसदीय निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ ।
चुनावी गठबन्धनका लागि पाचँ दलीय सत्ता गठबन्धनले देशभर साझा उम्मेद्वार चयन गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमा सहभागी भएका दल हुन ।
अर्का तिर नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, ह्रदेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी बीच अर्का गठबन्धन बनेको छ ।
सत्तागठबन्धनले थोरै सिट दिने भए पछि जसपा एमाले नेतृत्वको गठबन्धनमा सामेल भयो । जसपा एमाले नेतृत्वको गठबन्धनमा सामेल भए पछि एमालेसँग चुनावी तालमेल गर्ने भन्दै कार्यदल गठन गरेको लोसपा सत्ता गठबन्धनमा सहभागी भयो । सत्तागठबन्धनले संविधानको रक्षाका लागि गठबन्धनकोे आवश्यकता रहेको बताउँदै आएको छ ।
“व्यक्तिको लागि गठबन्धन भएको होइन । यो राष्ट्रियता लोकतन्त्र, त्यसभन्दा पनि विशेष गरेर लोकतान्त्रिक संविधानलाई रक्षा गर्नको लागि गठबन्धन बनाइएको हो । ” — नेपाली कांग्रेसका नेता दुर्लभ थापा भन्छन् ।
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका कारण ९० भन्दा धेरै स्थानीय तह गुमाएको एमालेले आगामी निर्वाचन पनि एक्लै लडे त्यो भन्दा धेरै क्षति हुन सक्ने अनुमान गरेको छ । त्यसैले पाचँ दलीय सत्ता गठबन्धनलाई अपवित्र साँठगाँठ भन्दै आएको एमालेले पनि निर्वाचनको सङ्घारमा वैचारिक रूपले फरक मत राख्ने दलहरूसंग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । एक महिना अघि सम्म बहुमत ल्याउन कसैसंग गठबन्धन गर्न आवश्यक नरहेको दाबी गर्दै आएको एमालेले अन्तत निर्वाचनको मिति नजिकिएसँगै साना दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ । सत्तागठबन्धनले जस्तो देशभर साझा उम्मेद्वार तय नगरे पनि एमालेले ठाउँ हेरेर साना दलहरुसंग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
मकवानपुर क्षेत्र नं १ मा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको छ । मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष थापालाई समर्थन गरेको एमालेले, त्यसबाहेकका ठाउँमा भने राप्रपा नेपालको मत लिने भएको छ । कमल थापासँग पूर्वपञ्चको केही मत छ । सत्तागठबन्धनको तर्फबाट मकवानपुर १ बाट नेपाली कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले साझा उम्मेद्वारी दिएकी छन ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ मा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । त्रिपाठीको प्रतिस्पर्धा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीसँग हुँदैछ ।
नेपाल परिवार दलका एकनाथ ढकाललाई समानुपातिकको सूचीमा समेटेको एमालेले ढकालको पार्टीलाई प्राप्त हुने सबै मत आफूले पाउने रणनीति तय गरेको छ ।
सबै भन्दा धेरै क्षेत्रमा चुनावी तालमेल गर्ने भनिएको राप्रपासँग भने एमालेले कति सिटमा तालमेल गर्ने भन्ने विषयमा अझै निर्णय गर्ने सकेको छैन । चुनावी तालमेलका लागि एमाले र राप्रपा दुबै दलका नेताहरू छलफलमा छन । तर कुन क्षेत्रमा कसलाई कसरी साझा उम्मेद्वार बनाउँने भन्ने विषयमा भने अझै सहमति जुटन सकेको छैन । यद्यपी रुपन्देही क्षेत्र नं ३ मा एमालेले राप्रपाका नेता दिपक बोहोरालाई समर्थन गर्ने भएको छ । अन्य क्षेत्रका लागि भने छलफल जारी रहेको दुबै पक्षका नेताहरुले बताएका छन ।
राप्रपाका एक पदाधिकारीले भने— “ समय अझै बाकिँ छ । चुनावी तालेलका लागि एमालेसँग छलफल जारी रहेको छ । टुङगोमा पुग्न भने सकिएको छैन । केही ठाउँमा सहमति जुटे पनि धेरै ठाउँमा भने कुरा मिलेको छैन । तिहार अघिनै सहमति जुटाउँने प्रयासमा छौं । ”
तर एमाले नेताहरुले भने आफूहरुले गरेको गठबन्धन, गठबन्धन नभई चुनावी तालमेल मात्रै भएको बताएका छन ।
“ हाम्रो सूर्य चिन्ह लिएर हामीलाई सहयोग गर्न चाहन्छौं भनेर आउँने सबै किसिमका मतदाता, सबै किसिमका राजनीतिक शक्तिहरुसँग कुरा गर्न तयार छौं नि । ” एमाले नेता डा.राजन भट्टराईले भने, “ त्यसमा मतलब, त्यहि कुरा चाहिँ गठबन्धनकाहरुले गर्दा त्यो जायज हुने तर हाम्रो सूर्य चिन्ह लिएर हामी सूर्य चिन्हलाई भोट हाल्छौं भन्ने जनता, मतदाता, राजनीतिक दल बेठिक भन्ने त निश्कर्षै निस्किदैन नि । ”
२०७४ सालको निर्वाचनमा लोकतन्त्र रक्षाका लागि भन्दै बनेका गठबन्धन यतिबेला तितर वितरको अवस्थामा छ । ०७४ सालको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेस, राप्रपा, वर्तमान राप्रपा नेपालका अध्यक्ष कमल थापा, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरु लोकतान्त्रिक गठबन्धन बनाएर निर्वाचन लडेका थिए ।
देशमा स्थाइत्व र स्थिरता भन्दै समाजवादको नारा लिएर करिब दुई तिहाई हाराहारिको जनमत प्राप्त गरेको वामगठबन्धन यतिबेला आरोप प्रत्यारेपमा व्यस्त छ । अघिल्लो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको देश व्यापी रुपमा गठबन्धन बनेको थियो । प्युठान, अर्घाखाँची, बाग्लुङ लगाएतका जिल्लामा राम्रो पकड बनाएको राष्ट्रिय जनमोर्चासंग पनि एमाले र माओवादी केन्द्रले प्युठानमा सहयोग गरेका थिए ।
अघिल्लो निर्वाचनमा प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेल निर्वाचित भएकी थिइन । यसपाली भने सत्तागठबन्धनको तर्फबाट उनै पौडेल साझा उम्मेद्वार बनेकी छन । एमालेले भने यसपाली सूर्य थापालाई उम्मेद्वार बनाएको छ ।
संसद विघटन पछि ओलीको कदमलाई साथ दिँदै आएको लोसपा यतिबेला सत्ता गठबन्धनमा सहभागी भएको छ । मेधश प्रदेशमा प्रतिनिधिसभा तर्फ ७ र प्रदेशसभा तर्फ १६ सिट लिने गरी लोसपा सत्तागठबन्धनमा सहभागी भएको हो ।
ओलीको कदम संविधान विरोधी भन्दै निरन्तर ओलीको आलोचना गर्दै आएको जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागी भएको छ । मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ ३२ र प्रदेशसभा तर्फ ६४ सिट रहेका छन । एमालेले जसपालाई मधेश प्रदेशमा प्रतिनिधिसभा तर्फ
१७ र प्रदेशसभा तर्फ ३४ सिट दिने भए पछि जसपा एमालेसँग गठबन्धन गर्न तयार भयो ।
सैद्धान्तिक रुपले कांग्रेस र लोसपा प्रजातान्त्रिक धारका राजनीतिक दल हुन भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा कम्युनिष्ट घारका राजनीतिक दल हुन ।
नेकपा एमाले कम्युनिष्ट धारको राजनीतिक धार हो भने राप्रपा, राप्रपा नेपाल, जनता प्रगतिशिल पार्टी र जनता समाजवादी पार्टीले आफूहरुलाई प्रजातान्त्रिक धारको राजनीतिक दल भएको बताउँदै आएका छन । तर निर्वाचनमा भने सैद्धान्तिक रुपले फकर धारमा उभिएका दलहरु सत्ता स्वार्थका लागि मात्रै एक ठाउँ आउँदा त्यसले लोकतन्त्रलाई समेत खतरामा पारेको जानकारहरुकोे बुझाई छ ।
“ सत्ता प्राप्तीको लागि मात्रै गठबन्धन भयो । देशका लागि, जनताका लागि, विकासका लागि, पूर्वधार निमार्णका लागि, नयाँ खाका कोर्नका लागि गठबन्धन भएन । राष्ट्रिय मुद्धाहरु जस्तै एमसीसी र एसपीपीमा पनि दलहरुबीच गठबन्धन हुन सकेन । यो कस्तो भयो भने, काले काले मिलेर खाउँ भाले भन्ने उखान जस्तै भयो । त्यसैले यी देश र जनताका लागि भन्दा पनि सत्ता प्राप्तीका लागि मात्रै बनाइएका गठबन्धन हुन । यसले लोकतन्त्रलाई समेत खतरामा पार्न सक्छ । ” राजनीतिक विश्लेषक प्रा.डा.राजेन्द्र चापागाईं भन्छन्
लोकतन्त्रको सबै भन्दा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन हो । निर्वाचनमा दलहरुले आफ्ना चुनावी एजेण्डा र सिद्धान्त लिएर जनता समक्ष अभिनु पर्ने हो । तर यहाँ अग्रमन र प्रतिगमनका नाममा दलहरुले जनतालाई कुनै एक चिन्हमा मतदान गर्न बाध्य पारेका छन । जनताले दलहरुको अर्कमण्यता र उनीहरुले गरेका गल्तीलाई कारवाही गर्ने माध्यम भनेको निर्वाचन नै हो ।
तर दलहरुले एक्ला एक्लै निर्वाचन लडे हारिने डरले जनातालाई कारवाही गर्ने अधिकार बाट पनि वञ्चित गरेका छन । त्यसैले पछिल्लो समय राजनीतिक आन्दोलनका लागि लामो समय संघर्ष गरेका दलहरुको विकल्पमा जनताले स्वतन्त्रलाई मत दिन थालेका छन । काठमाडौं, धारन, धनगढी लगाएतका ठूला सहरमा राजनीतिक विरासत बोकका दलहरुलाई मत नदिएर बालेन, हर्क , गोपी हमाल लगाएतका स्वतन्त्र उम्मेद्वारलाई दिएको मत यसैको उधाहरण हो ।
दलहरुप्रति आम नागरिकको वितृष्णाले स्थानीय निर्वाचनबाट केहि स्वतन्त्र व्यक्तिहरुको उदय भएको भएपनि अहिले तिनैको जितलाई आधारमानेर टिकट नपाउँने दलका नेताहरुले समेत स्वतन्त्र उम्मेदवारी दिँदा अहिले देशभर स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढेको छ ।
एमालेबाट घनश्याम भुसाल, रामवीर मान्धनर र कांग्रेस बाट अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेद्वारी दिएका छन ।
घनश्याम भुसालले एमाले परित्याग गर्दे रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेद्वाी दिएका छन । रामवीर मानन्धरले काठमाडौं क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेद्वारी दिएकोमा अमरेशकुमार सिंहले सर्लाही क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन ।
लोकतन्त्रमा दलको विकल्प दलनै हुँन्छ भनिएपनि बैकल्पिक भनिएका दलहरुले समेत वैकल्पिक राजनैतिक ऐजेन्डा तय गर्न सकेका छैनन । दलहरु जसरी पनि आफैले चुनाव जित्नुपर्ने गरि गठबन्धन गरि चुनावमा जाने निर्णय गरेको भएपनि शिर्ष नेताहरुले गरेको निर्णयलाई आम मतदाताले कसरी लिन्छन त्यो भने मंसिर ४ पछि मात्र थाहा हुनेछ ।
लोकतन्त्रलाई सुधार गर्दै उन्नत लोकतन्त्रको बाटो तर्फ लैजानु पर्ने बेला दलहरुको यस्तै अर्कमन्यताका कारण प्राप्त उपलब्धि खतरामा पर्ने हो किन भन्ने आशंका जन्मिएका छन् ।