बेलारुसी मानवाधिकारकर्मी र रुस तथा युक्रेनी संस्थालाई नोबेल शान्ति पुरस्कार

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ । रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल कमिटीले यो वर्षको शान्ति पुरस्कार नागरिक समाजलाई प्रतिनिधिहरूलाई प्रदान गरिएको जनाएको छ । ‘उनीहरूले वर्षौंदेखि शक्तिको आलोचना गर्ने अधिकारको प्रवर्द्धन र नागरिकको आधारभूत मानवअधिकारको संरक्षण गर्दै आएका छन्’ पुरस्कार कमिटीले भनेको छ, ‘उनीहरूले युद्ध अपराध, मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोग सम्बन्धलाई दस्तावेजीकरण गर्न विशिष्ट भूमिका खेल्दै आएका छन् ।’ उनीहरूले शान्ति तथा प्रजातन्त्रका लागि नागरिकता समाजको महत्वलाई प्रदर्शित गरेको कमिटीले जनाएको छ । मानवाधिकार तथा प्रजातन्त्रलाई विकसित गर्न युक्रेनी मानवअधिकार संस्था सेन्टर फर सिभिल लिबर्टी स्थापना गरिएको हो । यसै वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसबाट भएका मानवाधिकार उल्लंघनका घटनाहरूको दस्तावेजीकरण गर्दै आएको छ । सन् १९८७ मा स्थापना भएको मेमोरियलले तत्कालीन सोभियत संघ कालमा कम्युनिस्ट शासनको दमनमा परेकाहरूलाई बिर्सन नदिने भूमिका खेलेकाले उक्त संस्थालाई यो पुरस्कार दिइएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार