भारतीय कम्पनीको रुघाखोकीको औषधि खाँदा ६६ बालबालिकाको मृत्यु

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुघाखोकीको औषधि बालबालिकाहरुलाई नखुवाउन सुझाव दिएको छ । गाम्बियामा रुघाखोकीको औषधि खाँदा ६६ जना बालबालिकाको मृत्यु भएपछि औषधिकै कारण मृत्यु भएको हुनसक्ने भन्दै डब्ल्यूएचओले यस्तो सुझाव दिएको हो । डब्ल्यूएचओले बुधबार विश्वव्यापी स्वास्थ्यसम्बन्धी पत्रकार सम्मेलनमा यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा भनिएको छ, ‘डब्ल्यूएचओले गाम्बियामा चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ । जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बालबालिकाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’ ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले कम्पनी र सम्बन्धीत व्यक्तिसँग थप अनुसन्धान गरिरहेको छ । यी दूषित उत्पादनहरु हालसम्म गाम्बियामा मात्र भेटिएका छन् । तर अन्य देशमा पनि वितरण भएको हुनसक्छ,’ डब्ल्यूएचओले भनेको छ । डब्ल्यूएचओले यी उत्पादनहरु परीक्षण गरेर मात्रै सेवन गर्न सुझाव दिएको बीबीसीमा समाचार छ । अङ्ग्रेजी अखबार द हिन्दूले लेखेको छ कि डब्ल्यूएचओले यी औषधिहरूको परीक्षण गरेपछि तिनीहरूमा डाइथिलिन ग्लाइकोल र इथिलिन ग्लाइकोलको अनुपयुक्त मात्रा भेटिएको बताएको छ ।      
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५२
प्रतिक्रिया दिनुहोस्