नेभिगेशन
जीवनयापन

नेपाल आइपुगे भारतीय सेना प्रमुख

काठमाडौँ– भारतीय सेना प्रमुख जनरल मनोज पाण्डे आइतबार नेपाल आएका छन्। उनी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा पाँचदिने औपचारिक भ्रमणका लागि विशेष विमान मार्फत अपराहन्न काठमाडौँ आइपुगेका हुन् । पाण्डेले सोमबारदेखि औपचारिक भेटघाट तथा कार्यक्रम सुरु गर्ने छन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने चलन रहेको छ । त्यसकै लागि पाण्डे नेपाल आएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई सोमबार अपराहन्न शीतल निवासमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने छिन् । त्यसअघि उनले सैनिक मुख्यालय पुगेर वृक्षारोपण गर्ने छन् । उनलाई त्यहाँ गार्डअफ अनर प्रदान गरिने छ । पाण्डेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई ‘माइन प्रोटेक्टिभ’ सवारीसँगै केही स्वास्थ्य सामग्री र घोडा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । जंगीअड्डामा पाण्डेले प्रधानसेनापति शर्मासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । ‘राष्ट्रपतिबाट सोमबार अपराहन्न मनार्थ महारथीको दर्जा ग्रहण गरेपछि शिष्टाचार भेटको कार्यक्रम तय भएको छ’, भएकाे हाे । प्रधानसेनापति शर्माले सोमबार राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्ने छन् । मंगलबार भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने कार्यक्रम छ । तर यसलाई मौसमी अनुकूलताले निर्धारण गर्ने छ । यस्तै उनले कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्ने छन् । पाण्डेले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने तयारी छ । भारतीय सेना प्रमुख पाण्डे बुधबार मौसमी अनुकूल भएमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जाने र फर्किँदा कास्कीस्थित मध्यकमाण्डको निरीक्षण गर्ने छन् । यसबीचमा अनुकूलताका आधारमा पाण्डेले पशुपतिनाथ तथा कुमारीको दर्शन गर्ने र दरबार स्क्वायर क्षेत्रको पनि भ्रमण गर्न सक्ने जनाइएको छ । धार्मिक–साँस्कृतिक पक्षलाई पनि यो भ्रमणको क्रममा जोड्ने प्रयास गरिएको छ । नेपाल सरकारले भारतीय सेनामा नेपाली युवा अर्थात गोर्खा भर्तीलाई लिएर थप स्पष्ट हुन चाहेको समयमा पाण्डेको भ्रमण हुन लागेको हो । भारतले ल्याएको नयाँ अग्निपथ योजना अन्तर्गतको भर्ती प्रक्रियालाई सन् १९४७ मा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिले नसमेट्ने भन्दै नेपालले हाललाई गोर्खा भर्ती स्थगन गरेको छ । नयाँ स्कीम अनुसारको भर्ती प्रक्रियाले गोर्खा सैनिक र नेपालमा त्यसको कस्तो प्रभाव पर्छ भन्नेबारे थप स्पष्ट हुन पर्ने भएकाले समय चाहिएको नेपालले जनाएको छ । यस्तै राजनीतिक सहमति पनि चाहिने भन्दै थप छलफल गर्नु पर्ने परराष्ट्र मन्त्रालयले भारतीय राजदूत नवीन श्रीवास्तव मार्फत जानकारी गराएको थियो । यस्तै केही दिनअघि भारतीय सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताको क्रममा भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले पाण्डेको नेपाल भ्रमणका बेला अग्निपथ योजना अन्तर्गत गोर्खा भर्तीबारे छलफल हुन सक्ने बताएका थिए । भारतीय सञ्चारमाध्यमहरुले पनि यो भ्रमणको क्रममा अग्निपथ योजना अन्तर्गत गोर्खा भर्तीमा देखिएको अन्यौल हटाउने बारे छलफल हुन सक्ने उल्लेख गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै