नेभिगेशन
जीवनयापन

जुम्लामा १८ हजार मेट्रिक टन स्याउबाट ५० करोड भित्रिने अनुमान

जुम्ला । जुम्लामा यस वर्ष स्याउ उत्पादन ह्वात्तै बढ्ने अनुमान गरिएको छ । गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष झण्डै १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने आँकलन छ । स्याउ निर्यातबाट जुम्लामा झण्डै ५० करोड बढी आम्दानी हुने कृषि कार्यालयको अनुमान छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउ खेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको छ । १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुँदा सरदर प्रतिकेजी ४५ देखि ५५ रुपैयाँ मूल्यमा विक्री गर्दा अनुमानित ५० करोड बढी आम्दानी हुनेछ । यस वर्ष ५० प्रतिशतले स्याउ उत्पादन वृद्धि भएको हो । गत वर्ष १० क्विन्टल स्याउ फलाएका गुठिचौर गाउँपालिका ५ का किसान देवीकृष्ण धितालले यस वर्ष भने १८ क्विन्टल उत्पादन गरेका छन् । स्याउ खेतीबाटै मनग्य आम्दानी हुने सम्भावना रहेकोले रोजगारी खोज्न कालापहाड जानु पर्ने धिताल बताउँछन् । आयातित भन्दा जुम्लाको स्याउ निकै स्वादिष्ट छ । तर व्यवस्थापकीय कमजोरीले भने बजारीकरणमा समस्या देखिन्छ । वरिष्ठ किसान रामकृष्ण बुढ्थापा भन्छन्,“ग्रेडिङ, लेवलिङ, प्याकेजिङ जस्ता कुरामा सरकारी तबरबाट ध्यान पुराउन जरुरी छ । जुम्ली स्याउ स्वादिष्ट हुँदाहुँदै पनि मूल्य पाउन सकेको छैन । कोल्ड स्टोर निर्माण, मूल्य निर्धारण र बजारीकरण लगायतको व्यवस्थापकीय पाटोमा राज्यले ध्यान दिनुपर्छ ।” जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुँदा २९ सय हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । स्याउको बजार प्रवर्द्धनका लागि जुम्ला एप्पल लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरणका लागि १५ हजार खरिद गरिएकोमा १२ हजार वितरण भइसकेको छ । जुम्ली पहिचानसँगै आर्थिक समृद्धिसँग जोडिएको स्याउको उत्पादन वृद्धि, सहज बजारीकरण तथा किसानले नै मूल्य निर्धारण गर्न पाउने ठोस नीति निर्माणमा हुनु पर्नेमा किसानको जोड छ । तर सुविधायुक्त सित भण्डार नहुँदा जुम्ली स्याउको भण्डार र बजारीकरणमा समस्या आएको छ । स्याउ निर्यातको तथ्याङ्क राख्न कालिकोट र जुम्लाको सीमामा रहेको नाग्म प्रहरीलाई तथ्याङ्क सङ्कलनको जिम्मा दिइएको छ । स्याउ कति परिमाणमा बाहिरियो भन्ने पूर्ण तथ्याङ्क आउन भने केही समय लाग्ने देखिन्छ । जुम्लामा अहिले ग्रेड सी लेभलको स्याउप्रति केजी रु ४० र ए ग्रेडको स्याउ प्रतिकेजी रु ६० भन्दामाथि बिक्री भइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै