नेभिगेशन
जीवनयापन

ठेक्का नसक्ने निर्माण व्यवसायीलाई भरतपुर महानगरको अल्टिमेटम

चितवन– भरतपुर महानगरपालिकाले ठेक्का नसक्ने निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ । महानगरपालिकाले म्याद सकिएर निर्माण नभएका आयोजनाहरूलाई अन्तिम समय सीमा तोकेको छ । भरतपुर महानगरपालिकाको सभा हलमा शुक्रवार निर्माण व्यवसायीहरूसँग भएको छलफलले ७ वर्षदेखि अलपत्र भएका आयोजनाहरूलाई अन्तिम समय सीमा तोकिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले खरिद ऐन सम्झौता अनुसार पटक–पटक म्याद थप भएका आयोजनालाई स्पष्टीकरण माग गर्ने र चित्त बुझ्दो जवाफ नआए कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् । मेयर दाहालले महानगरपालिकाले कुनै पनि स्वार्थ र गलत उद्देश्य नराखेकाले राजनैतिक आस्था, नाता सम्बन्ध र निकटताको आधारमा कोहीलाई पनि छुट नहुने स्पष्ट पार्नुभयो । ‘दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम ६ वर्ष पुरा हुँदा पनि सम्पन्न भएको छैन, उनले भनिन्, ‘६ वर्षसम्म निर्माण सामग्री अभाव भएन होला, बहाना कहिलेसम्म बुन्नु हुन्छ रु’ महानगरपालिकाले निर्माण व्यवसायीलाई सहजीकरण गर्दै आएको भए पनि तथ्यहीन बहाना बनाएर काम रोक्ने परिपाटी विकास भएको मेयर दाहालको धारणा थियो । छलफलका क्रममा मेयर दाहालले आयोजनाको काम किन रोकिएको भन्दै निर्माण व्यवसायीलाई प्रश्न गरेकी थिइन् । यस्तै उपप्रमुख चित्रसेन अधिकारीले विभिन्न बहाना बनाएर विकास निर्माणका कामहरू रोक्न नमिल्ने बताए । निर्माण व्यवसायीहरूको औजार उपकरणहरू अनुगमन तथा निरीक्षण गरी लाइसेन्सको नवीकरण गर्नुपर्ने उपमेयर अधिकारीको तर्क थियो । निर्माण व्यवसायीलाई परेका समस्याको निकास दिन महानगरपालिका सदैव तयार रहेको उल्लेख गरिन् । यस्तै कार्यक्रममा अधिकांश वडाध्यक्षहरूले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेर ठेक्का रद्द गर्नुपर्ने धारणा राखेका थिए । निर्माण व्यवसायीहरूले यसअघि गरेको प्रतिबद्धता अनुसार एक प्रतिशत पनि काम नबढाएको भन्दै जिम्मेवार बन्न उनीहरूलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निर्माण व्यवसायीहरूलाई जुन कुनै समय र विषयमा सहजीकरण गर्न प्रशासन तयार रहेको बताए । भरतपुर महानगरपालिकामा ०७६ सालदेखि काम सम्पन्न नभएका आयोजनाहरू अहिले पनि अलपत्र छन् । महानगरमा वडास्तर, महानगर, प्रदेश, संघ तथा राष्ट्रिय गौरवका आयोजनाहरू लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीले निर्माण सम्पन्न हुन सकेको छैन । महानगरपालिकाले निर्माण व्यवसायीको आग्रहमा म्याद थप गरिँदै आइरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै