नेभिगेशन
जीवनयापन

काठमाडौँस्थित दूतावासबाट नेपालीहरूलाई भिषा दिने व्यवस्था गर्न अष्ट्रेलिया सरकारसँग आग्रह

काठमाडौँ– नेपालले काठमाडौँस्थित अष्ट्रेलियन दूतावासबाट नेपालीहरूलाई भिषा दिने व्यवस्था गर्न अष्ट्रेलिया सरकारलाई आग्रह गरेको छ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आज सम्पन्न नेपाल र अष्ट्रेलियाको दुई पक्षीय परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्र सचिव भरतराज पौडेलले त्यस्तो आग्रह गरेका छन् । बैठकमा परराष्ट्र सचिव पौडेलले अष्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहयोगको प्रशंसा गर्दै, कोभिड पछिको आर्थिक पुर्न उत्थान, एलडिसि ग्र्याजुएसन र दिगो विकासका सन्दर्भमा सहयोग गर्ने मुलुकको सूचिमा नेपाललाई राख्न पनि आग्रह गरेका थिए । नेपाल र अष्ट्रेलिया बीचको आपसी संयन्त्रको आजको बैठकमा दुवै पक्ष एक अर्का मुलुकमा उच्चस्तरीय भ्रमण गराउन, जनता जनता बीचको सम्पर्क अभिवृद्धि गर्न आपसी व्यापारको सहजीकरण गर्न तथा लगानी र प्रविधिको हस्तान्तरण गर्न सहमत भएका छन् । त्यसैगरी दुवै पक्ष बैठकको क्रममा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने संयुक्त राष्ट्रसङ्घीय शान्ति पुनर्स्थापनामा प्राप्त गरेका अनुभवहरू आदान प्रदान गर्ने लगायतका विषयहरूमा पनि छलफल भएको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ । बैठकमा दुई देश बीचको आपसी सम्बन्धलाई समयानुकूल थप अघि बढाउने, शिक्षा, ऊर्जा, लगानी, व्यापार, पर्यटन, प्रविधि हस्तान्तरण, आप्रवासन, दैविप्रकोपको जोखिम न्यूनीकरण लगायतका विषयमा छलफल भएको थियो । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले र अष्ट्रेलिया सरकारको तर्फबाट त्यहाँको परराष्ट्र मामिला तथा व्यापार विभागका निमित्त सचिव जस्टिन हेहस्र्सटले गरेका थिए । बैठकमा सचिव पौडेलसहित जल तथा ऊर्जा आयोगका सचिव दिनेश कुमार घिमिरे, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशनाथ पोखरेल, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, उपसचिव सिता बस्नेत, नेपाली दूतावास अष्ट्रेलियाका उपनियोग प्रमुख कुलबहादुर थापा सहभागी रहेका थिए । नेपाल र अष्ट्रेलिया बीच सन् २०१७ मा आपसी परामर्श संयन्त्रको स्थापना भएको थियो । संयन्त्रको पहिलो बैठक सन् २०१८ मा काठमाडौँमा भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्