नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– ज्ञानेन्द्र मल्लले अर्धशतकप्रेरित नेपालले आज पाँचौँ तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा केन्यालाई जितका लागि १७६ रनको लक्ष्य पेस गरेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले केन्याको नैरोवीस्थित जिमखाना क्लब क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । केन्या भ्रमणमा पहिलो पटक पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको हो । नेपालका लागि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ५९ रन बनाए । ओपनिङमा आएका ज्ञानेन्द्रले ४४ बलमा ५ चौका र दुई छक्का प्रहार गरे । उनले अर्जुन साउँदसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीसँग दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । अर्जुन साउद २९ तथा दीपेन्द्रसिंह २२ रन बनाएर पवेलियन फर्किए । ज्ञानेन्द्रले रोहितकुमार पौडेलसँग पनि तेस्रो विकेटका लागि २० रनको साझेदारी गरे । पवन सर्राफ १ रनमा आउँट हुँदा आदील अन्सारी ४ रन बनाएर आउट भए । विवेक यादव दुई रन बनाएर पवेलियन फर्किदा उपकप्तान रोहितले ४७ रन बनाए । करण केसी दुई रनमा अविजित रहे । नेपालले आज चौँथो खेलको टिममा दुई खेलाडी परिवर्तन गरेको थियो । साहब आलम र आरिफ शेखको स्थानमा विवेक यादव र वसिर अहमदलाई टिममा राखिएको छ । पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–२ को बराबरी भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४९
प्रतिक्रिया दिनुहोस्