नेभिगेशन
जीवनयापन

भोजपुरका ३ सय ८४ सामुदायिक विद्यालय बन्द हुँदा पठन–पाठन प्रभावित

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरू एक हप्ताका लागि बन्द भएका छन् । विद्यालय बन्द भए सँगै पठनपाठन प्रभावित भएको छ । नेपाल सामुदायिक विद्यालय कर्मचारी परिषद्को आन्दोलनलाई समर्थन गर्दै आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द भएका हुन् । परिषद्को भोजपुर जिल्ला समितिले पनि विद्यालय बन्द गर्न आग्रह गरे सँगै विद्यालय बन्द भएका हुन् । समितिले एक विज्ञप्ति जारी गर्दै भदौ १२ देखि १८ गतेसम्म जिल्लाका ३ सय ८४ सामुदायिक विद्यालय बन्द गरेको हो । कर्मचारीहरूको जायज मागलाई अविलम्ब वार्ताका माध्यमबाट समाधान गरी विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नुपर्ने समितिकी जिल्ला अध्यक्ष उषादेवी राईले बताइन् । आन्दोलनलाई नेपाल शिक्षक महासङ्घ भोजपुरले पनि समर्थन गरेको छ । महासङ्घका जिल्ला अध्यक्ष तीर्थकुमार राई र सचिव हरि प्रसाद गौतमले विज्ञप्ति जारी गरी आन्दोलनको समर्थन गरेका हुन् । जिल्लाका सबै सामुदायिक विद्यालयमा पठन–पाठन बन्द हुँदा विद्यार्थी भने मारमा परेका छन् । आन्दोलनका नाममा विद्यालय नै बन्द गराउनु दु:खद् भएको अभिभावकले प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्