नेभिगेशन
जीवनयापन

मिटरब्याजीविरुद्ध सर्लाहीमा ४२७ र मोरङमा ३७ जनाले दिए उजुरी

मोरङ । अरुलाई गरिब बनाएर आफू धनी बत्रे मिटरब्याजी मोरङमा पनि देखा परेका छन् । मिटरब्याजीका कारण देशभरका पीडितको समस्यालाई सम्बोधन गर्ने हिसाबले गृह मन्त्रालयले आ-आफ्ना जिल्लामा प्रशासन कार्यालय उजुरी दर्ता गर्न सूचना जारी गरेपछि मोरङमा यही भदौ ५ गतेसम्म ३७ जनाले उजुरी गरेको सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । ग्रामीण क्षेत्र धनपालथान र जहदा गाउँपालिका, रङ्गेली र सुन्दरहरैचा नगरपालिका सहित विराटनगर महानगरपालिकाबाट आएका उजुरीअनुसार ऋणीले ऋण तिर्दा पनि जग्गा फिर्ता नगरेको गुनासोसहितका उजुरी परेको बताइएको छ । सयकडा रु तीनदेखि पाँचसम्म मासिक ब्याज लिने गरेको मिटरब्याजीका कारण धेरै मानिस घरबारविहीन बनेका छन् भने भएका सम्पत्ति पनि मिटरब्याजीले कब्जा गर्ने गरेका छन् । ऋणीहरु रु एक लाखदेखि रु पाँच लाखसम्म ऋण लिएको र लिएको ऋणभन्दा पनि बढी ब्याज बुझाई सक्दा पनि ऋणमुक्त हुन नसकेका पीडितको हकमा सरकारले ध्यान दिनुपर्ने स्थानीय अर्जुन सुवेदीले बताए । सरकारले भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न दिएको हदम्याद पछि पनि तीन उजुरी परेको र यी सबै उजुरीको अभिलेख राखी गृह मन्त्रालयमा पठाइसकेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । मिटरब्याजीहरु ऋण दिनुभन्दा पहिले नै धितोमा राखिने जग्गा मालपोत कार्यालयमा राजीनामा पास गराई लिने गरेकाले समस्या भएको र यस्तो समस्या एक ठाउँको मात्र नभएर देशव्यापी देखिएकाले यसमा राज्य गम्भीर हुनुपर्ने बताएको छ । समस्यामा परेका मानिसलाई तत्काल बैंकले ऋण नदिने र समस्या समाधान गर्न मिटरब्याजीको सम्पर्कमा जाने गरेका पीडितले जति कमाए पनि सबै पैसा मिटरब्याजीलाई नै बुझाउनु परेको र तर पनि ऋणबाट मुक्त हुन नसकी आफ्ना सम्पत्ति अरुको कब्जामा गएको दुःख सहनयोग्य नभएको पीडित बताउँछन् । सुनसरी इनरुवा नगरपालिका वडा नं ७ चाँदबेलका दुई मिटरब्याजीहरुका कारण सयौँका संख्यामा मानिस ठगिएका छन् भने अरुलाई ठगेर धन आर्जन गर्न सफल भएको ती दुवै मिटरब्याजी गर्व गरिरहेका छन् । पहिले त यी मिटरब्याजीले पैसा छैन भन्ने र धेरै कर गरेपछि सयकडा रु तीनदेखि रु पाँच लिन्छु भन्ने कम समय भएमा सयकडा रु पाँच लिने र बढी समयमका लागि दिने ऋणमा रु पाँचसम्म लिने गरेको पाइएको छ । सर्लाहीमा ४२७ उजुरी मिटरब्याजी आरोपितविरुद्ध चार सय बढी पीडितले उजुरी दिएका छन् । सरकारले आरोपितविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्लामा चार सय २७ पीडितले मिटरब्याजीविरुद्ध उजुरी दिएका हुन् । सरकारले गरेको आह्वानपछि जिल्लामा विभिन्न समयमा मिटरब्याजीबाट पीडित बनेका चार सय २७ जनाले उजुरी दिएका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले दिनुभयो । उहाँका अनुसार सरकारले यही भदौ ५ गतेसम्म उजुरी दिन समय दिएको भए पनि कतिपयको अहिले पनि उजुरी दिइरहेको छ । भदौ ५ गतेपछि आएका उजुरीको छुट्टै लगत राखेर दर्ता गरिरहेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । जिल्लामा धेरै उजुरी गत बिहीबार परेको र पीडितले जिल्ला सदरमुकाम मलङ्वामा प्रदर्शनसमेत गरेका थिए । पीडितले गरेको प्रदर्शनमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले समेत सहभागिता जनाएका थिए । लामो समयदेखि शुद्धखोर अभियानमा लागेका नगर प्रमुख बुढाथोकीले प्रदर्शनमा उत्रिएका पीडितको पदर्शनलाई समर्थन जनाएका हुन् । जिल्लामा मुख्यत मिटरब्याजी आरोपितमा श्यामकृष्ण साह, रामबाबु राय र सञ्जय साह रौनियारको नाम पहिलादेखि नै चर्चामा रहेको भए पनि पछिल्लो समय इन्दल राय, रामस्वरुप राय र रामचन्द्र रायलगायतका नाममा पनि उजुरी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आरोपितमध्ये ब्रह्मपुरी गाउँपालिका- २ त्रिभुवननगर निवासी सञ्जय अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । प्रहरीले उनीविरुद्ध मिटरब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले बताए । अन्य आरोपित फरार रहेका र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय