नेभिगेशन
समाचार

‘समृद्ध नेपाल निर्माणमा प्रवासीको भूमिका महत्त्वपूर्ण हुन्छ’

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्ध मुलुक निर्माणको लागि विदेशमा रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहने बताएका छन् । आज जापानको राजधानी टोकियोमा आयोजित ‘समृद्ध नेपालको आधार, आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि आफूहरू प्रयत्नशील रहेको र बिदेसिएका नेपालीहरूलाई स्वदेश फर्कनका लागि अपिल गर्ने दिनको प्रतीक्षामा आफू रहेको बताए । संविधान जारी भएपछि दोस्रो पटक गत वैशाखमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको र आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनले मुलुकलाई स्थिरतातर्फ लैजाने उनको भनाइ छ । उनले हरेक क्षेत्रलाई अगाडि बढाउने मुख्य विषय नै राजनीति भएकाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने बारेमा सामूहिक रुपमा प्रयत्न गर्नुपर्नेमा जोड दिए । विकास र समृद्धिका लागि सुशासन नै प्रमुख आधार रहेको भन्दै उनले त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । अध्यक्ष दाहालले माओवादीकै पहलमा देशमा सङ्घीयता र गणतन्त्र आएको तथ्य पनि पेश गरे। उनले चालु आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको विकासका लागि गुणात्मक तवरले लगानी गर्ने वातावरण बनाइएको बताए । उनले देशभित्र राजनीतिक स्थायित्व र विकासका लागि आफूहरू लागि परेको स्पष्ट पारे । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार