नेभिगेशन
समाचार

साइकल खरिदमा भ्रष्टाचार ठहर भएपछि जनमत पार्टीले माग्यो मधेसका मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौँ– सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेका हुन्। ‘हामीले सुरुदेखि नै भन्दै आएका छौँ बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा व्यापक भ्रष्टाचार भएको छ, हाम्रो पार्टीको दबाबले छानविन प्रक्रिया सुरु भयो’, सो पार्टीका नेता बिपी साहले साहले भने, ‘अख्तियारले छानविन गर्दा नै मुख्यमन्त्री राउतले राजीनामा दिनु पर्ने थियो, त्यतिबेला दिइएन तर अब विशेष अदालतमा मुद्दा नै दायर भएपछि नैतिकताको आधारमा मुख्यमन्त्रीले राजीनामा दिनु पर्छ।’ कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ। ‘मुख्यमन्त्रीकै नाम जोडिएको कार्यक्रम, मुख्यमन्त्रीकै कार्यालयबाट सञ्चालित कार्यक्रम, मुख्यमन्त्रीकै निर्देशनमा सबै निर्णय हुने कार्यक्रममा मात्र कर्मचारी दोषी छन् भनेर तर्क गर्नु गलत हो, मुख्यमन्त्रीको संलग्नताबिना यत्रो ठूलो भ्रष्टाचार हुनै सक्दैन’, साहले भने, ‘आफ्नै हातबाट साइकल वितरण गर्ने, फोटो खिचाउने तर कुन ब्राण्डको साइकल वितरण भइरहेको छ भनेर मुख्यमन्त्रीले थाहा नपाउने कुरै भएन।’ राजनीतिक दबाब र प्रभावका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री राउतलाई जोगाउन खोजेको आरोप पनि सो पार्टीले लगाएको छ। ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ठूलो माछामाथि हात हाल्न डराउँछ भन्ने कुरा नेपाली जनतालाई थाहा छ। त्यही भएर अख्तियारले पनि कर्मचारीमाथि मात्र मुद्दा दायर गरेको छ।’ मधेस प्रदेश सरकारले सञ्चालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रदेश सचिवसहित ८ जनाविरुद्ध बुधबार अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार