नेभिगेशन
समाचार

पक्राउ पुर्जी जारीपछि नेकपाको प्रतिक्रिया : सरकारले शान्ति प्रक्रिया भाँड्न खोज्यो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएपछि नेकपाले सरकारले शान्ति प्रक्रिया भाँड्न खोजेर देशलाई द्वन्द्वतिर धकेल्न थालेको बताएको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज घटाएको घटना तुरुन्त रोक्न माग गरिएको बताएका छन् । उनले भने, ‘तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौं । यसबाट भाबी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ । राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशिल प्रक्रियामा छ ।’ आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो । अदालतले भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर, केन्द्रीय सदस्य उदय बहादुर चलाउने ‘दीपक’, स्कुल विभाग सदस्य भरतबहादुर बम, मोहनबहादुर कार्की, पदमबहादुर राई लगायतका नेताहरु समेत पक्राउ पुर्जी जारी गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार