संस्मरण : एसएलसी, एक उत्सव 

बिहीबार, मंसिर ८, २०७९

फेसबुकको भित्तोमा एसईई छाएको छ । छोराछोरी, भाइ बैना, विद्यार्थी, आफन्त वा नातागोताले एसईई पास गरेकोमा पोखिएको खुसीयालीले यो भित्तो लछप्पै छ ।

हरेक कुराको अपडेट पाइने सजिलो माध्यम यही भित्तो जो बनेको छ ।

म चाहिँ २०५५ सालमा एसएलसीको रिजल्ट आउँदा म अनि मेरा बुबा आमाको त्यो हर्क वढाईँ सम्झिरहेको छु । छोरो पास भएको खुसीयालीमा बुबा आमाले व्यक्त गरेको खुसी र पाएको बधाई अहिले फेसबुकमा छाइरहेका भन्दा कम थिएन ।

२०५५ साल जेठ पहिलो हप्ताको कुनै दिन । गते बिर्सियो । बिहान सखारै गोरु चराउन नजिकैको पँधेरे खेतमा लगेको थिएँ । सँधैजसो साथ मै हुने रेडियो छुट्ने कुरै थिएन, एसएलसीको रिजल्ट 'साँझब्यान' जो भएको थियो ।

नभन्दै त्यही दिन एसएलसीको रिजल्ट आएको खबर रेडियोले बतायो ।

काँधमा भिरेर सुनिरहेको कालो फिलिप्स रेडियोसँगै बत्तिँदै घर पुगेँ । रिजल्ट आएको खबर बुबाआमालाई सुनाएँ । खाना खाएर रिजल्ट बुझ्न बाउ छोरा मोराहाङतिर लाग्यौँ ।

के भयो होला ? कुन डिभिजन आयो होला ? अब कुन क्याम्पस जाने होला ? कतै फेलै पो भइयो कि ? मनभरि कुतुहल बोकेर मोराहाङ पुगियो ।

मोराहाङ डाँडामा थियो सार्वजनिक टेलिफोन बुथ अर्थात् पीसीओ । जहाँ पुग्दा पीसीओ अपरेटर नारायण गौतम दाइले गौखुरी, जनप्रिय र श्रीजुङ माविका कति कति सिम्बोल नम्बरका विद्यार्थी कुन डिभिजनमा पास भए भन्ने सूची बनाइसक्नुभएको रहेछ ।

‘ल है काका बधाई छ’, बुबातिर हेर्दै नारायण दाइले भन्नुभयोे, ‘भाइले पास गरेछ ।’

बाको मुहार उज्यालियो ।

तर मेरो उत्सुकता सकिएकै थिएन । बालाई डिभिजन चाहिएको थिएन, मलाई पासले मात्र भएको थिएन ।

‘कुन डिभिजन दाइ ?’ मैले हत्त न पत्त सोधेँ ।

‘सेकेन्ड ।’ नारायण दाइलाई कसको कुन डिभिजन भन्ने मुखाग्रे भइसकेको रहेछ ।

त्यहाँबाट वर्तिर थियो मुक्ति दाइको चिया पसल । हामी त्यही पस्यौँ । त्यो दिन मोराहाङ डाँडामा एसएलसीको नतिजा मुख्य समाचार थियो । होटेलमा रहेका सबैले मलाई भन्दा पनि बुबालाई बधाई दिए ।

बा गमक्क पर्नु अस्वाभाविक थिएन । यही खुसीयालीमा बुबाले त्यहाँ रहेका सबै जनालाई 'चिया पार्टी' दिनुभयो ।

सेकेन्ड डिभिजन आएकोमा म पनि खुशी नै भएँ । 

उसो त मलाई फस्ट डिभिजन आउँछ भन्ने आस खास थिएन । यसका केही कारण थिए । कक्षा ९ मा ऐच्छिक विषय छान्न पर्थ्यो । एसएलसीमा फर्स्ट डिभिजन ल्याउने ठानिएका कक्षााका अलि जान्नेसुन्नेले ‘अप्सनल म्याथ’ पढ्थे । जसलाई उनीहरु 'ओपीटी' भन्थे । त्यो नपढ्नेले पढ्नुपर्थ्यो इतिहास ।

अप्सनल म्याथमा ९८–९९ सम्म अङ्क ल्याएको रेकर्ड थियो भने इतिहासमा ५०–५२ भन्दा माथि आएको कसैलाई सम्झना थिएन । अरू विषय भूगोल, शिक्षा आदि थिए जुन पास गर्न खास गाह्रो थिएन तर खासै धेरै नम्बर पनि आउने थिएन ।

म कक्षाकाे औसत विद्यार्थी । रजिस्ट्रेसन फर्मभन्दा उमेर पुगेन भनेकाले ९ कक्षा दोहोर्‍याउने निधो गरेँ । अर्को बर्ष, १० कक्षामा विषय नलागी उत्तीर्ण गर्नेको अन्तिम नम्बरमा मेरो रोल नम्बर थियो, १० ।

जिल्लास्तरीय सेन्ट अप टेस्ट परीक्षामा हामी १० जनाले फर्स्ट डिभिजन ल्याएका थियौँ । मेरो प्राप्ताङ्क थियो ४२३ । फस्ट डिभिजन पुग्न चाहिन्थ्यो ४२० । विद्यालयका विएस्सी सर कमलनारायण झाका अति सुन्दर अक्षरमा लेखिएको मार्क सिट मगमग बास्ना आउँथ्यो ।

यो परीक्षामा अप्सनल म्याथ नलिई फर्स्ट डिभिजन ल्याउनेमा रत्न, शशी र म मात्र थियौँ कि जस्तो लाग्छ ।

मलाई हिसाब यसै पनि गाह्रो लाग्ने । जमेट्री केही नबुझिने । टङ्क सरले साध्य पढाउनुहुन्थ्यो । म साध्य ब्लाक बोर्डबाट कापीमा त सार्थेँ तर एक पित्को पनि मेरो दिमागमा पस्थेन ।

सरले नबुझाएर होइन, मैले नै नबुझेर । अझ बुझ्ने चेष्टै नगरेर ।

अङ्कगणित र विज गणित तै विशेक थिए। उनै टङ्क सरले ९ कक्षामा मलाई अप्सनल म्याथ पढाउन खुब जोड गर्नुभयो । कति पटक त अँगालो हालेर सँगै कक्षामा लानुभयो ।

एसएलसीमा डिभिजन ल्याउन सहज हुने भएकाले अलि मेहनत गरेर भए पनि अप्सनल म्याथ पढ्न उहाँको सुझाव थियो ।

तर म ओपीटीकाे कक्षामा रत्तिनै सकिनँ । सरसँगै कक्षामा पसे पनि उहाँले ब्ल्याकबोर्ड मेट्न थाल्दा म पछाडिको ढोकाबाट फुत्किसकेको हुन्थेँ र केही बेरमा इतिहासको कक्षामा झुल्किन्थेँ ।

पार नलाग्ने देखेरै होला, सरले पनि मलाई अप्सनल म्याथको कक्षामा लैजान थप बल गर्नुभएन ।

सेन्ट अपमा फर्स्ट डिभिजन ल्याएका हामी १० जनालाई फर्स्ट डिभिजन ल्याउनेबारे स्कुलले केही योजना बनायो । आफ्ना कति जना विद्यार्थीले फर्स्ट डिभिजन ल्याउँछन् भन्ने कुरा स्कुलका लागि पनि प्रतिष्ठाको विषय थियो ।

अझ हाम्रो गौखुरी स्कुल जिल्लाकै गिनेचुनेको मध्ये एक र पुरानो स्कुल थियो । त्यो इलाकाको त सर्वाधिक लोकप्रिय र प्रतिष्ठित पनि । जनप्रिय मावि पौँठाक र श्रीजुङ मावि  भर्खर भर्खर मावि बनेका थिए ।

सेन्टअप पछि एसएलसीको तयारीका लागि ट्युसन अनिवार्य जस्तै थियो । हाम्राे सेन्टरका चारवटा गाविसका चारवटै विद्यालयलाई समेत सहज होस् भनेर संक्रान्ते गोदाममा ट्युसन पढाउने प्रबन्ध गरिएको थियो । प्रतिविषय १०० हो कि २०० रुपैया शुल्क तिरेर अङ्ग्रेजी, विज्ञान र गणित विषयको ट्युसन पढ्न पाइने (पढ्न पर्ने) भयो  ।

ओपीटी म्याथ लिनेहरूले भने त्यो विषय पनि ट्युसन पढ्थे ।

संक्रान्ते गोदामको चौरमा ढुङ्गामाटोको गाह्रो र छानो समेत भएका पाटी थिए (अझै छँदै छन्) । खास गरी मलामीलाई खाजा खानका लागि बनाइएका ती पाटी अब ट्युसन स्थल बनाइए । अलि सानो पाटीमा थोरै विद्यार्थीलाई अलि ‘खतरा’ भनिने सरले पढाउने । अर्को अलि ठुलो पाटीमा धेरै विद्यार्थीलाई अरू सरले पढाउने ।

त्यहाँ पनि टङ्क सर, डेनु सर र देवीदास सरले मलाई त्यो थोरै विद्यार्थीले पढ्ने पाटीमा पढ्न भन्नुभयो । तर, म एक दिनभन्दा अर्को दिन त्यहाँ बस्न सकिन । किन किन मलाई मनै परेन ।

सबै जना मभन्दा जान्ने छन् जस्तो लाग्यो । अङ्ग्रेजीको ग्रामर वा गणित र विज्ञानका प्रश्न सरले सोधी नसक्दै फ्याट्ट फ्याट्ट भन्थे । सर त्यसैअनुसार कोर्स अघि बढाउने । तर अर्को पाटीमा आफू सबैभन्दा जान्ने हुन पाइने । सरले सोध्नासाथ सबैभन्दा पहिले जवाफ दिनेमा आफू आइने । चूडामणि गौतमको अङ्ग्रेजी ग्रामरको किताब थियो, जतन गरी भित्र पत्रिका र बाहिर प्लास्टिकको गाता लगाएको ।

अनि यी तीन विषयमा एनबीडीका गेस पेपर पनि थिए ।

कक्षामा बनाएका नोट बुक र किताब त हुने नै भए । सानो पाटीमा थोरै विद्यार्थीसँग नभई ठुलो पाटीमा विद्यार्थीसँग अटेसमटेस गर्न मै म रमाएँ । त्यो पार्टीमा पढ्ने धेरै जनामध्ये बुद्धिमान लुम्फुवाँ, कविता लिम्बुलगायतलाई म अहिले पनि सम्झन्छु । बुद्धिमान पछि भारतीय सेनामा भर्ती भएको थियो, जम्मु काश्मिरमा ऊ बित्यो । कविता शायद युकेतिर छ होला । सम्पर्क नभएको वर्षौँ भयो । फेसबुकमा खोजिमर्दा पनि भेटिन्न, शायद नाम अर्कै छ कि ।

कविताको घर पर्जाङ थियो । हाम्रै घरको बाटो हुँदै ऊ घर जाने । उ मसँग खुब मिल्ने । उसो त त्यसअघि ९ कक्षाबाट नै छिमेकी डेनु गाैतम सरसँग अंग्रेजी ट्युसन पढ्न थालिएकाे थियो । अझ ७ कक्षामै हुँदा पनि मेरो साथी विजय सम्बाहाम्फे र म निश्चल निङ्लेखु सरसँग केही महिना ट्युसन पढेका थियाैँ ।

गणितमा कमजोर र अप्सनल म्याथ नपढेको हुनाले फर्स्ट डिभिजन ल्याउन निकै कठिन थियो । नभन्दै पछि परीक्षामा इतिहास पढ्नेहरू मध्येबाट रत्न खापुङले मात्र फर्स्ट डिभिजन ल्यायो ।

उ क्लासको थर्ड ब्वाई थियो । छुच्चो पनि, अति राम्रो फुटबल पनि खेल्ने, पढाईमा पनि अब्बल । उसैले इतिहास पढ्नेले पनि फर्स्ट डिभिजन ल्याउन सक्छन् भन्ने प्रमाणित गर्दै इतिहास विषय र पढाउने सरको नाक राखिदियो ।

.............

एसएलसीको परीक्षा केन्द्र आफ्नै स्कुल गौखुरी उच्च मावि नै थियो । तर बिहान ७ बजेबाटै परीक्षा हुने भएकाले धावा होला भनेर बुबाले मलाई मोराहाङ मै डेरा बस्ने प्रबन्ध गरिदिनुभएको थियो ।

म झोलामा भएभरका किताब र लुगा खाँदखुँद पारेर जीवनमा पहिलो पटक डेरा बस्न गएको थिएँ ।

त्यस बेला आमाले मामाघर गएका बेला दमकबाट ल्याइदिएको जिन्सको ज्याकेट, कालो छालाको बेल्ट, बोन्जोभी लेखेको टिसर्ट र फिस चप्पल थिए ।

यी चारै वटा चिज हामी दामलीमाझ सर्वोत्तम फेसनका जिनिस थिए ।

जिन्सको ज्याकेटको पछाडिपट्टि मैले पुरानो कपडाको ठुलो गोजी बनाउन लगाएको थिएँ । परीक्षाभरका लागि अस्थायी गोजी ।

मेरो स्यानो आङमा ठुलो देखिने ज्याकेटभित्र नोट भएको कसैले भेउ नै नपाउने ।

अरू विषयको डर थिएन । गणित विज्ञान र अङ्ग्रेजीको हाउगुजी अचम्मकै थियो । यस्तो हाउगुजी कि पास गरिन्छ भन्ने कन्फिडेन्स आउनै नदिने ।

अघिल्ला ब्याचका अधिकांशको तिनै विषय लागेको हुने । सरदेखि बा आमा र गाउँका दाइ दिदीले पनि यी पास गर्न साह्रै गाह्रो भनेर तर्साएको तर्साई गर्ने ।

अहिलेको भाषामा भन्दा ‘होम सेन्टर’ भएकाले हामीलाई धेरै सहज थियो । विद्यालयदेखि कक्षाकोठा, डेस्क बेञ्च, अनि ‘गार्ड’ देखि कार्यालय सहयोगीसमेत सबै आफ्ना । यो सेन्टरमा हाम्रो गौखुरी स्कुलसहित श्रीजुङ मावि श्रीजुङ, जनप्रिय मावि पौँठाक र सम्दु मावि सम्दु गरी चारवटा विद्यालयका विद्यार्थी थिए ।

परीक्षा सुरु नहुँदै विद्यालय बाहिर एक खालको मेला नै लागेको हुन्थ्यो । पर डाँडासम्मै मानिसको लस्कर । विशेष चहलपहल चिया पसलमा । प्रश्न पत्र बाँडेको केही बेरमै विद्यालयका सहायकमार्फत प्रश्न पत्र चिया सलसम्म पुग्दो रहेछ । अनि चिया लिन जाने उहाँलाई चियासँगै गोजीभरि चिट पठाइँदो रहेछ । फोटो कपि थिएन, कार्बन राखेर पाँच सात कपिसम्म छापिने ।

त्यसका लागि चारवटै विद्यालयकै विषयगत सरहरू खटिने । एक घण्टा जति पछि कक्षामा चिटका चिर्कटा आइपुग्ने । तर बाहिरबाट पठाउँदा भनिएका वा सिफारिस गरिएका ब्यक्तिलाई दिइने त्यस्ता चिट अरुसम्म बेलाबेला मात्र आइपुग्ने ।

मलाई त्यस्ता चिट सारेको चाहिँ सम्झना छैन ।

तर, कक्षामै कहिलेकाहीँ सरहरुले सिकाइदिएको र गणितका दिन साध्यको चिट सार्दै गर्दा ‘सुपरिटेन्डेन्ट’ ले भेटाएर मेरो बिल्ला गरेको चाहिँ अझै याद छ । साध्य केही नबुझिने र बाँकी हिसाब पनि के कति मिलेको भन्ने टुङ्गो नभएपछि चिट चोर्नुको विकल्प थिएन ।

म बढो दुखका साथ हिम्मत जुटाएर साध्यको चिट सारिरहेको थिएँ । एकै छिनमा सुपरिटेन्डेन्टले रङ्गेहात पक्रिहाले । उनले चुपचाप नोट खोसेर लगेका भए भइजान्थ्यो । तर उनी परे सुपरिटेन्डेन्ट, त्यसैमाथि चोर्दै गरेको चिट भेटेका ।

किन थामिन्थे र, गर्जिहाले- ‘हेर हेर यति सानो मान्छेले पनि नडराई चिट चोरेको ।’  मलाई चिटले चिटचिट पसिना चुहाउने बनायो ।

मैले क्याम्पस पढाउन थालेपछिको एक परीक्षामा कुनै विद्यार्थीले झसङ्ग हुने गरी सम्झाएको थियो । मैले परीक्षामा चोर्न हुँदैन भनेर सम्झाउँदा उसले तपाईँले चाहिँ नचोरी आउनु भएको हो र ? भनेर प्रतिप्रश्न गर्दा मैले त्यही एसएलसी परीक्षा झलझली सम्झेको थिएँ ।

शिक्षा विषयको परीक्षाका दिन ब्ल्याकबोर्डमा लेसन प्लानको खाका तयार पारिदिएको रहेछ । तर मैले त्यो सारिनँ ।

गणितका दिन चिटसहित पक्राउ परेकैले मेरो भाले सातो गइसकेकै थियो । मेरो छेवैकी साथीले हतार हतार त्यसलाई हुबहु कापीमा उतारिन् । तर पछि लेसनप्लान बनाउने प्रश्न आएन । म फुरुङ्ग परेँ, उनी निन्याउरी भइन् ।

विज्ञान विषयको परीक्षाका दिन नजानेका जति एक नम्बरे छोटा प्रश्नहरूको उत्तर वीएस्सी सरले बिस्तारै भनिदिनुभएको थियो । अनि मैले गरेको हिसाब मिल्यो कि मिलेन भन्ने चेक पनि ।

तर पछि आफूलाई सबैभन्दा चकित त्यही विज्ञानले पार्‍यो । तीन वटा कपि थप गरेर सबैभन्दा राम्रो परीक्षा दिएको त्यहि विज्ञानमा जम्मा ३२ नम्बर आउँदा मलाई कति औडाहा भएको थियो भन्ने मैलाई थाहा छ ।

त्यसपछि नै मैले परीक्षामा लेखेर वा मिलाएर मात्रै नम्बर आउँदैन रहेछ भन्ने बुझेँ । कहिलेकाहीँ अपवाद पनि हुँदो रहेछ ।

अङ्ग्रेजीका दिन विषयगत सरले ग्रामरमा निकै नै हेल्प गर्नुभयो । खासगरी लेखिसकेका उत्तर मिले कि मिलेनन् भनेर जाँच्न र नमिलेको भए मिलाउन । अहिले सोच्दा लाग्छ माहौल नै एसएलसी भनेपछि जसरी पनि पास गर्नै पर्छ, त्यसका लागि चिट चोर्नै पर्छ भन्ने एउटा छाप नै परेको थियो ।

विद्यालय नै र सरहरू नै लागेपछि बाँकी कुरा के नै भयो र ?

.........

नतिजा आउँदा हाम्रो स्कुलबाट तीन जनाले फर्स्ट डिभिजन ल्याए । एकराज गौतम, जीवन पाहिम र रत्न खापुङ । बाँकी हामी धेरै दामलीले सेकेन्ड डिभिजन र केहीले थर्ड डिभिजन ल्यायौँ ।

फर्स्ट डिभिजन ल्याउनेमा हामीभन्दा अघि रहेकाे ठानिएको बिनय पनि हाम्रै डिभिजनमा चित्त बुझाउन बाध्य भयाे ।

बिनयको कुरा गर्दा १० कक्षा सकेपछि एसएसली नआउँदैको बिदाइको दिनको एकदमै धेरै याद आउँछ । जुन विदाइ समारोहमा उसले गितार बजाउँदै गीत गाएको थियो । बिनय गाउन बजाउन नेतृत्व र केही राजनीतिमा पनि अगाडि थियो । केही साथीहरूले कम्पार्ड दिए । केहीले अर्को वर्षको तयारी गरे ।

श्रीजुङ र सम्दुबाट कसैले पनि फर्स्ट डिभिजन ल्याउन सकेनन् । जनप्रियबाट गाउँले साथी रमेश दाहालले फर्स्ट डिभिजन ल्यायो । जनप्रियको ऊ नै फर्स्ट डिभिजन ल्याउने पहिलो विद्यार्थी हो ।

एसएलसीको नतिजापछि चिन्ताको अर्को कुरो थियो– अब क्याम्पस कहाँ पढ्ने ? केही विकल्प थिए, आफैँले पढिरहेको गौखुरी स्कुलमै, मामाघरमा बसेर दमक बहुमुखी क्याम्पसमा, सानिमाको घरमा बसेर तेह्रथुम क्याम्पसमा, वा पूर्वको नामी धनकुटा बहुमुखी क्याम्पसमा वा सदरमुकामको म्याङ्लुङ क्याम्पसमा ।

विविध विकल्पहरूमाथि प्रशस्त छलफल पछि घरको एक मात्र सन्तान त्यो पनि सानै भएकाले घर छोडेर नजाने कुरामा नै सहमति भयो । गौखुरीमा मानविकी संकायको प्लस टु थियो । विषय छान्नुपर्ने झन्झट पनि खास थिएन । जम्मा एउटा विषय छान्नुपर्ने ‘लेठो’ थियो । मेजर नेपाली कि अङ्ग्रेजी ।

बा आमालाई यसबारे केही थाहा थिएन पनि । उहाँहरूको भनाई– ‘जे पढ्दा राम्रो हुन्छ त्यही पढ ।’

यस बेला अर्को हौवा थियो ‘अङ्ग्रेजी अति गाह्रो हुन्छ कि पासै गर्न सकिँदैन ।' पासै गर्न नसकेर ११–१२ कक्षामै अड्किएको अड्कियै भइयो भने भन्ने डरले सजिलो बाटो रोजियो । फलतः ऐच्छिक नेपाली लिएर उही गौखुरी उच्च माविमै कक्षा ११ मा भर्ना भइयो ।

स्कुलमा अलि माथि पट्टिको ब्लकमा क्याम्पसे जीवन सुरु गरियो । त्यस बेला क्याम्पस पढ्नेको थप ‘इज्जत’ हुन्थ्यो । त्यसमाथि हेर्दा सानो भएकाले मलाई सबैजसोले ‘यसले कति सानैमा पढेको’ भन्दिन्थे । म अलि अलि गम्किन्थेँ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:२२
प्रतिक्रिया दिनुहोस्