नेभिगेशन
जीवनयापन

सक्रिय विपदको क्षति कम गर्न अब सबै प्रदेशमा गुड्ने अस्पताल

काठमाडौँ– नेपाल बहु प्रकोप जोखिम भएको देश हो । बहु प्रकोपको उच्च जोखिमका कारण सरकारले विपद् न्यूनिकरणका लागि सरकारले प्राधिकरण समेत गठन गरेर काम गरिरहेको छ । २०७६ सालमा गठन भएको प्राधिकरणले हरेक वर्ष कार्ययोजना बनाएर काम गरिरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराई यसपटक प्राधिकरणलाई सँधै भन्दा बढी बजेट विनियोजन गरि गतिविधि गरिरहेको बताउँछन् । चालु आर्थिक वर्षका लागि सरकारले प्राधिकरणलाई १ अर्ब ६१ करोड रुपैयाँ बजेट छुट्याएको छ । विपद्मा खोज उद्धार राहत लगायतका कामहरु पनि गरिरहेको प्राधिकरण विपद बारेको जनचेतना फैलाउने र जोखिमको क्षति गर्ने रणनीतिका साथ काम गरिरहेको प्राधिकरणले जनाएको छ । प्रवक्ता भट्टराईले भने, ‘बहु प्रकोपको जोखिम भएका कारण हामीले चट्याङ, बाढी पहिरो, आगलागी लगायतका विपद्बाट कसरी जोगिने भन्नेमा जोड दिएर काम गरिरहेका छौँ ।’

‘पूर्व सूचना प्रणालीको विकास गरिएको छ’ उनले थपे, ‘कुनै पनि घटना हुनुभन्दा पहिला नै त्यसबारे जानकारी दिने गरिको सन्देश मोबाइल तथा सामाजिक सञ्जालहरुमा जान्छ।’ यस्तै प्रभावमा आधारित पूर्वसूचना प्रणालीको विकास पनि गरिएको उनले बताए । ‘पानी कति प¥यो भन्ने कुरा महत्वपूर्ण होइन, पानीले कति क्षति गर्छ भन्ने कुरा महत्वपूर्ण हो । पानीले गर्ने सम्भावित क्षतिको पहिले नै अनुमान गरेर नागरिकलाई सावधानी अपनाउन सूचित गरिन्छ’ उनले भने ।

प्राधिकरणका प्रवक्ता डा. भट्टराई अहिले विगतभन्दा अझै व्यापक तयारी गरेर अघि बढेको दाबी गर्छन् । ‘हरेक वर्ष जस्तै यसवर्ष पनि मनसुन पूर्व तयारी तथा प्रति कार्य राष्ट्रिय कार्ययोजना बनाएर नै काम थालनी भएको छ’ प्रवक्ता डा. भट्टराईले भने ‘हामीले गत वर्षहरुमा जस्तो क्षति बेहोर्न नपर्ने गरी जनचेतनामुलक सन्देशहरू पनि प्रवाह गर्दै आएका छौँ ।’

गुड्ने अस्पतालको शुरुवात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदबाट हुने क्षति कम गर्नका लागि गुड्ने मिनी अस्पतालका रुपमा विकास गरिएका सवारी साधन नेपाल ल्याएर सञ्चालनको प्रवन्ध गरिएको जनाएको छ ।

विपदबाट घाइते हुनेहरुलाई तत्काल उपचार गर्नसक्ने सुविधा र सामग्रीसहितका ८ वटा सवारीसाधन ल्याएर सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको प्रवक्ता डा. भट्टराईले जानकारी दिए । उनका अनुसार सातै प्रदेश र काठमाडौँ उपत्यकामा एक एकवटा गरि आठवटा यस्ता गुड्ने अस्पताल छिट्टै सञ्चालनमा आउनेछन् ।

अस्पतालमा मात्र प्राप्त हुने भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, अक्सिजन कन्सेन्ट्रेटर, इसिजी मेसिन, अल्ट्रासाउन्ड मेसिनलगायतका उपकरण यी सवारीसाधनमा जडान गरिएको छ । त्यसभित्र छ÷छवटा सुविधायुक्त शय्या र सिसी क्यामेरा हुने छन् । ‘डाक्टर आइ वा डाक्टर भएको ठाउँमा घाइतेलाई नपुर्याउँदासम्म टेलिमेडिसिनको रूपमा डाक्टरलाई जोडेर उक्त गाडीभित्रै बिरामीको उपचार र निगरानी गर्नसमेत सकिने व्यवस्था गरिएको पनि उनले जानकारी दिए । यी गुड्ने अस्पताल सञ्चालनमा आएपछि अकालमा हुने मृत्युलाई घटाउन सहयोग गर्ने प्रवक्ता भट्टराईले बताए ।

‘ए क्लास’का एम्बुलेन्सका रुपमा रहेका गुड्ने अस्पताल सञ्चालनका लागि मल्टी डोनर ट्रस्ट फन्ड र विश्व बैंकको व्यवस्थापन सहयोग गरेको हो ।

यस्तो छ क्षतिको अवस्था प्राधिकरणको तथ्यांकअनुसार सन् गएको आर्थिक बर्षमा विपदका कारण प्रदेश १ मा ८१ जनाले ज्यान गुमाएका छन् । ९ सय ७८ वटा घटनामा अनुमानित ८१ करोडको क्षति भएको छ ।

यस्तै, मधेश प्रदेशमा ८ सय १६ घटनामा ४८ जनाले ज्यान गुमाएका छन् भने ३६ करोडको क्षति भएको अनुमान गरिएको छ । यसैगरी, बागमती प्रदेशमा ४० जनाले ज्यान गुमाएका छन् भने करिव ९३ करोड रुपैयाँको क्षति भएको छ । यस्तै, १ बर्षमा लुम्बिनी प्रदेशमा ८८, गण्डकी प्रदेशमा ५५, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा ६८ जनाको ज्यान गएको छ ।

प्राधिकरणका अनुसार लुम्बिनी र गण्डकीमा २५ करोडको अनुमानित क्षति भएको छ भने क्रमश ६२६ र ३२६ वटा घटना भएका छन् । यस्तै, कर्णालीमा ४ करोड र सुदूरपश्चिममा ११ करोडको अनुमानित क्षति भएको छ भने क्रमशः १८१ र ४३८ घटना भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन