नेभिगेशन
समाचार

‘फार्ममा पसेर चितुवाले मार्‍यो हजार बढी कालिज’

दोलखा– दोलखाको भीमेश्वर नगरपालिका–७ मकैवारीमा रहेको कालिज फार्ममा शनिवार राति चितुवा पसेर एक हजार भन्दा बढी कालिज मारेको सञ्चालक मिङ्गु शेर्पाले बताए । झण्डै दुई बर्ष पुगेका ती कालिज मर्दा फार्मलाई ३० लाख भन्दा बढी क्षति पुगेको सञ्चालक शेर्पाले बताए। अहिले कालिज प्रति वटा २५ सय रुपैयाँ बिक्री हुँदै आएको थियो । फार्ममा शनिवार राति दुई बजेतिर चितुवा पसेको अनुमान गरिएको छ । बिहान फार्मका मजदुर कालिजलाई दाना हाल्न जाँदा केही कालिज मरेको भेटेका थिए । त्यसपछि के भएको भनी हेर्न जाँदा चितुवाले आक्रमण प्रयास गरेको थियो । वाइल्ड लाइफ एग्रो विथ रिर्सोटको नामबाट झण्डै तीन बर्ष अघि २५ रोपनी जमिनमा फार्म सञ्चालन गरिएको थियो । फार्मको दुई भागमध्ये एक भागमा चितुवा पसेको हो । उक्त भागमा १६ सय ५० वटा कालिज रहेकोमा अब एक डेढ सय मात्र देखिएको सञ्चालक शेर्पाको भनाई छ । अर्को भागमा दुई हजार वटा कालिज रहेको र चितुवालाई उज्यालोमै समाउन नसकिए त्यता समेत नोक्सान गर्न सक्ने सम्भावना रहेको सञ्चालक शेर्पाले बताए । उक्त कालिज फार्ममा तारबार लगाइएकोले चितुवा बाहिर निस्कन नसकेको र जिल्ला वन कार्यालयको टोलीले समेत नियन्त्रणमा लिन नसकेपछि काठमाडौँबाट विज्ञ टोली आउन लागेको जिल्ला वन कार्यालय दोलखाका प्रमुख थिर बहादुर कार्कीले बताए। डाटिङ विधि (गोली हानेर बेहोस बनाउने) बाट चितुवा समातेर सुरक्षित बास स्थानमा लगेर छोडिने जिल्ला वन कार्यालयका प्रमुख कार्कीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार