नेभिगेशन
समाचार

एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई तत्काल पत्र पठाइयोस् : माधव नेपाल

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने भनेर गरिएको निर्णय कार्यान्वयनमा ढिला भएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसलाई तत्काल कार्यान्वयन गर्न अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री देउवालाई पुनः दबाब दिएका हुन् । आज आइतवार काठमाण्डौमा आयोजित ‘विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिनअघि मात्रै आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेरै एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरिएको पनि बताए । अध्यक्ष नेपालले त्यससम्बन्धी पत्राचार छिटो अमेरिकालाई पठाउन सरकारलाई दबाब दिन पनि आम नेपाली नागरिकलाई आह्वान गरे । उनले भने, ‘देशको हितको निम्ति सजग हुनुपर्ने आवश्यकता छ । अस्ति भर्खर मात्रै म र प्रचण्डले एसपीपी अस्वीकार गरिएको पत्र अमेरिकालाई पठाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका थियौँ । यस सम्बन्धमा जनताको तहबाट पनि आवाज उठ्नुपर्दछ । जनता सजग हुनुपर्दछ । किनभने नेपालको राष्ट्रियताको रक्षा गर्ने भनेको नेपाली जनताले हो ।’ अध्यक्ष नेपालले एमसीसीमा व्याख्यात्मक टिप्पणी पनि रहेकाले त्यो सम्झौताले देशको अहित नगर्ने तर्कसमेत गरे । उनले एमसीसी र एसपीपी अघि बढाउने काम केपी ओली नेतृत्वको सरकारले गरेको भन्दै आपत्तिसमेत जनाए । नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न खोज्छ भने त्यो नेपाली नागरिकलाई सैह्य नहुने चेतावनी दिँदै उनले देशको परराष्ट्र नीतिको मामिलामा दलहरूबीच राष्ट्रिय सहमति हुनुपर्ने आवश्यकता रहेको बताए । अध्यक्ष नेपालले आफू परराष्ट्रमन्त्री र प्रधानमन्त्री भएको बेलामा परराष्ट्र नीति र नेपालको राष्ट्रिय सुरक्षा नीतिको दस्तावेज तयार पारे पनि त्यसमा राष्ट्रिय सहमति जुटाउने काम हुन नसकेको बताए। नेपालले सन्तुलित भएर परराष्ट्र सम्बन्धलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार