नेभिगेशन
समाचार

नागरिकता विधेयकका विषयमा सञ्चारमाध्यमले सही सूचना दिनु पर्छ : गगन थापा

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । शुक्रबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सञ्चारमाध्यमले दिएका सूचनाका आधारमा नै जनताले आफ्नो मूल्यांकन गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।

उनले विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय संसदमा छलफलको विषय हुनेभन्दै यसलाई छलफलमा भएका कुरालाई सही ढंगले पस्तुत् गर्नुपर्ने आवश्यक्ता औंल्याए । महामन्त्री थापाले जनतालाई सत्यतथ्य कुरा सही ढंगले सम्प्रेषित गर्न आवश्यक रहेको बताए ।

‘हामी संसद्मा नागरिकता विधेयकमाथि छलफल गर्दैछौँ । आजकै नागरिकता विधेयकपछि सञ्चारमाध्यममा आउने विषयको आधारमा भोलि नागरिकले मत बनाउने हो । हामीले छलफल गर्ने आजका थुप्रै विषयमध्येको एउटा विषय विवाह गरिसकेपछि नेपाली पुरुषले विवाह गरेको एउटा महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने विषय छलफलको विषय बन्छ’ । उनले थपे, ‘छलफलमा भएका विषयलाई सही ढंगले सम्प्रेषित गर्न सकेनौँ भने धेरै मानिसले बनाउने मत हुँदै नभएको व्यवस्था लागु गरेको छ भन्ने हुन्छ ।’ महामन्त्री थापाले सही ढंगले सूचना सम्प्रेषण नगर्दा नागरिकमा भ्रम सिर्जना हुने भन्दै यसलाई रोक्न आवश्यक रहेकोमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार