पाकालगायत हरेक उमेर समूहका मानिसका बारेमा धेरै प्रसङ्ग हरेक मानव समुदायमा लोक भनाई र किस्साको रूपमा रहेको पाइन्छ । मानव समाजको विकास प्रक्रिया नियाल्ने हो भने उन्नाइसौँ शताब्दीपछि संसारभरि आएको यान्त्रिक र राजनीतिक परिवर्तनले सकारात्मक साथै नकारात्मक कुराले फड्को मारेका देखिन्छ । यसको मुख्य कारण नै सायद हरेक जैविक अजैविक बस्तुको अस्तित्व र औचित्यलाई मुल्यसँग तुलना गर्ने प्रवृत्ति अर्थात् बजारवाद नै होला । मानव स्रोतलाई प्रमुख ठान्ने केही बिचारहरूबाहेक पूँजि बजारमा प्रष्ट रुपले नाफा र नोक्सानको लेखाजोखाले मानिसका उमेरअनुसार मूल्याङ्कन गर्ने गरिन्छ । हरेक व्यक्तिको परिवार र समाजमा गर्नुपर्ने कर्तव्यबारे कम चर्चा गरिन्छ, जिम्मेवारी बहन गर्ने त अरु नै छन् जस्तो व्यवहार छताछुल्ल भएका पाइन्छ ।
व्यक्तिवादको चपेटामा सबै मानिस आफ्नो हक अधिकारका कुरा बढी उराल्न व्यस्त देखिन लागेका छन् । पाका मान्छे विविध सामाजिक परिवेश, पारिवारिक इज्जत मोह, संस्कारगत सोचाई र शारिरीक अवस्थाका कारणले आफ्ना कुरा घनिभूत तवरले उठाइरहेका पाइन्नन् । त्यसैले उनीहरूका आवश्यकता, चाहना र इच्छा अचेल कतिपयका लागि ‘गनगन, गुनासो, निहुँ खोजाई, एकलकाँटे, म्याद गुज्रेको, बोझ र खानका काल’ आदि भएका छन् । वास्तवमा यस्तो हुँदै होइन, बरु यस्तो आलाप त निकृष्ट परिवार सदस्य र व्यक्तिवादले बिग्रिएकाहरूको स्याल हुईयाँ मात्र हो ।
बिगत
आजका पाका मान्छे हिजोका पुरानै सामाजिक संस्कारमा हुर्किएका युवायुवती हुन । परिस्थितिजन्य भोगाइलाई अनुकूल पार्दै शिक्षा दीक्षा, कमाई–धमाई गरी आजका हरेक सामाजिक विकासको जग हाल्ने उनै हुन । आफ्नो जीवनकालमा बृहत् सामाजिक, राजनीतिक, आर्थिक, भौतिक र यान्त्रिक उथलपुथल भोगिएका छन् । एकै जीवनमा यति धेरै परिवर्तन थोरै समयमा नै भोग्ने मानव सभ्यताको समाजमा आजका पाका मान्छे नै पर्लान् ! विकसित भनिने भनाइने देशको हालत त त्यस्तो छ भने कम विकसित र अल्पविकसित निर्धन भनिएका देशहरूका मानिसले त पछिल्ला पाँच दशकका अचम्मका परिवर्तन आफ्नै आँखाले नै देखे भोगेका छन् ।
नेपालको आकाशमा पहिलो पटक हवाईजहाज आउँदा ‘भगवानको पुष्पक विमान’ भनी पुजा गर्ने मानिस आजका पाका मानिस हुन । आफ्नो क्षेत्रमा सामान्य नुन मट्टितेलको आपूर्तिमा हप्ताैँ पैदल हिँडेका र पाटीमा बास बसेका मानिस आजका धेरै पाका मान्छे हुन् । घण्टौँ हिँडेर बिद्यालय पुग्ने र पढ्दा तलमाथि भएमा गुरुले दिने ‘सुम्ला बस्ने गरीको पिटाई’ खाने आजका पाका मान्छे मध्येमा पर्छन् । काठमाडौँका बिहान, बाह्र बजेको तोप र घण्टाघरबाट समय थाहा पाउने र जिल्लातिर अमिनी र चौकीको घण्टीबाट समय थाहा पाउने बेला जन्मेका हुन् आजका पाका मान्छे । धेरैतिर भालेको डाँकले समय अड्कलिन्थ्यो भने घाम लाग्दा छाया हेरेर बितेको र बाँकी रहेको समय ठम्याएर कामको थालनी गर्ने र सिद्ध्याउने आँट हुन्थ्यो, ती हुन् अहिलेका पाका मान्छे ।
विद्यालय जाँदै वा त्यसको लगत्तै विवाहित भएका आजका पाका मान्छे आफ्ना छोराछोरी जन्मिसकेपछि पनि बा आमाको अगाडी जोडासँग बोल्न धक मान्थे । ससुराली वा माइत जाँदाबाहेक ‘लाजमर्दो वा अचम्मको चर्तिकला’मा दरिन जोडी घुमघाम र भ्रमण गर्न त कोही रोज्दैनथे । बढी समय काम गरेर हुन्छ कि, चाकरीमा हाकिमलाई कोसेली पात लगेर हुन्छ आयआर्जनमा लागिरहे । जे होस् सुखदुख गरेर जहान परिवारलाई सघाए, आफूले भए हुन्थ्यो भनी चिताएका र नपाएका धेरै कुरा पुरा गरेर सन्तान हुर्काए, शिक्षा दीक्षा दिलाए ।
अहिले अम्मल अम्मलमा झगडा गर्ने स्थिति छ, उतिखेर विकास गर्न आफ्ना उब्जाउ खेतबारी दिएर बाटोघाटो, विद्यालय, पाटी पौवा र भेला कोलागि चौतारो, गौचर छुट्ट्याउने अहिलेका पाका मान्छे नै हुन् । पाका मान्छेको विविध त्यागबिना आजका वयस्कको जीउ डाल बनेको होइन, न घर संसार रमणीय भएको हो, न समाज यति विकसित भएको हो, न श्रीसम्पत्ति जोडिएको हो । यस्तो सहज र सुखपूर्ण घरको स्थिति बनाएका तर अहिले सेवा निबृत्त र कोही शारीरिक कमजोरी भएका आफ्ना बा आमा– पाका मान्छेलाई हामीले आदरयुक्त व्यवहार गरिरहेका छौँ त ? वयस्कहरूले व्यक्तिगत मृगतृष्णामा दौडिँदै गर्दा पाका मान्छेका भोगाई बारे गम्भीरतापूर्वक समिक्षा गर्नु पर्दैन ?
के के गर्ने त ?
समाजको गति र आफ्नो प्रगतिलाई कम बिघ्न बाधासहित पुरा गर्न चाहने सबैले पाका मान्छेका कुरा मान्ने, सुन्ने र आदर गर्न अग्रसर हुनु राम्रो हुन्छ । ‘उहिलेका कुरा खुईले, जुग जमाना कहाँ पुग्यो उही पुराना कुरा, हाम्रा बामाका गनगन’ भनेर अनुभवसिद्ध आफन्तका सुरक्षित उपायहरू लत्त्याउने कोसिस नगरौँ । पाका मान्छेले बिलौना गर्दै ‘बसेर बोले सुन्दैनन् उठेर बोले हावाले लैजान्छ’ भन्ने पारे घाटा त आखिर वयस्क र नटेर्नेलाई नै हुन्छ । उहाँहरू त ‘डाँडामाथिका जुन’ होइन र भन्या ? पूर्वबाट उदाएको मानेदेखि झलमल्ल रात, पश्चिमतिरको मान्ने हो भने एकै क्षणमा अलप, अनि अँध्यारो !
भनेको मान्नुहोस्
पाका मान्छे अथवा आफ्ना बा आमा, हजुरबा आमाले भनेको र ईच्छाअनुसार गर्नु वयस्कहरूको परम कर्तव्य नै हो । पाका मान्छेको कुरा मानेर काम गर्दा तपाईँलाई फाइँदाबाहेक बेफाईदा केही हुन्न । वयस्कहरूमा उमेरजन्य उत्साह होला नौला कुरा गर्ने गर्नुहोस्, तर एक पटक पाका मान्छेको सल्लाह लिनुहोस् । उहाँहरूलाई तत् विषयको पूर्ण ज्ञान नभए पनि कुनै अठोटेको काम कसरी गर्ने भन्ने जुक्ति अवश्य हुन्छ । हरेक युगमा हरेक पल नयाँ नयाँ काम भएका छन्, कोही परम्परामै टाँसिएका थिए, कोही नयाँ प्रयोग गर्न उत्साहित पनि भए । ती सबैको साक्षी तपाईँका घरमा नै रहेका पाका मान्छे हुनुहुन्छ । उहाँहरू आफैँले नगरे पनि ती अनुभवका आधारमा तपाईँलाई किञ्चित मर्का नपर्ने उपाय सुझाउन सक्नुहुन्छ ।
बाहिर फेर अझै काम गर्न पाका मान्छे जानुहुन्छ भने त उहाँको काममा सघाउ पुग्ने वातावरण मिलाइदिए तपाईँहरू सबैलाई फाइदा पुग्नेछ । सेवा निवृत्त भएर घरकै काममा उहाँहरू व्यस्त हुनुहुन्छ भने कामको सहयोग त हुने नै भयो । तपाईँहरू सहयोगी भइदिए त एक मेलो काम पूर्ण गरी सक्नलाई सजिलो नै हुन्छ । खानपान, लुगाफाटो, घर व्यवस्थापन, स्वास्थ्य बिचार, वातावरण र मौसमबारे पनि उहाँहरूको भोगाई जन्य सल्लाह तपाईँको दैनिकीमा फलदायी बन्न सक्छ । अनुभवजन्य सुरक्षित कामको थालनी र समापनमा पाका मान्छे जति भरपर्दा अरू हुँदैनन् भने लेनदेनमा व्यवहार कुशल त हुन्छन् नै । बिचार गर्नोस् छ दशकभन्दा बढी अनुभवले खारिएको ज्यानले आफ्नै सन्तान र आफन्तलाई साँचो कुराबाहेक अरू त भन्नै सक्दैन नि । के तपाईँले आफ्नो वयस्क उमेरमा पाका मान्छेका छ दशक जोडेर काम गर्नुभयो भने साँच्चिकै सहिबाटो पहिल्याउन कमी होला र ? बाहिर फेर निस्कँदा उचित लुगाफाटो र किनमेल कालागि पर्याप्त रकम भए नभएको दुई पटक जाँची मात्र निस्कने, आकाश हेरेर छाता बोक्ने नबोक्ने थाहा पाउने पाका मान्छे, बुद्धि नभएका होइनन् सामाजिक इज्जतका विवेकी प्राणी हुन् ।
खबरदार
पाका मान्छेको लालन पालनबाट हुर्किएको आफ्नो उमेर, जोस, जाँगर र उहाँहरूकै भरथेगमा आर्जित तपाईँको योग्यता हो । त्यो गुनको बदला उहाँहरूकै कुरा नमान्ने, घमन्ड देखाउने र अनुभवका खात भएका पाका मान्छेका अस्तित्वलाई नकार्ने कुबुद्धि नगर्नोस् । यसले तपाईँलाई हद दर्जा दिए ‘टुप्पामा पलाको, फेद हराको’ भन्ने उपनामले विभूषित गर्न सक्छ । त्यसो भए तपाईँको अगाडी मौजुदा परिस्थितिले गर्दा कोही कसैले ज्यु ज्यु गरे पनि तपाईँ ओझेल पर्नासाथ सामाजिक रूपले उठ्न नसक्ने गरी कुरा काट्नेको पङ्क्ति पाउनु हुनेछ । तपाईँले आफ्ना घरका र बाहिरका पाका मान्छेका कुरालाई सादर मान्नुभएको भए अप्ठ्यारो नपर्ला । नत्र रहँदा बस्दा तपाईँकै सन्तानले तपाईँको व्यवहारले त्यही उल्टो उल्टो सिकेर उछित्तो काट्न के बेर ? ‘उठिउठी पिसाब फेर्नेका सन्तान घुमिघुमी फेर्छन्’ भनेझैँ अहिले प्रश्न उठाउन आँटगर्ने सन्तानले भोलि सामर्थ्य भएपछि तपाईँका कुरा सुन्लान् कि घरबाटै लखेट्लान ? बिचार गर्नोस्, स्वतन्त्रताको गन्धे सिको गरी तपाईँको आदेशलाई लत्त्याएर मन खुसी ‘मिठो नमिठो, राम्रो नराम्रो र मलाई यही नै चाहिन्छ’ भन्ने स्वभाव पारी सक्नुभएको छ अवध शिशुहरूमा । त्यसो भएको अवस्थामा तपाईँले ज्यादा कडाइ गर्न खोज्दा ‘तपाईँहरूलाई यस्ता भन्छन् , हजुरबा आमालाई यसो गर्या रे हो ?’ यस्तो बेला तपाईँको भविष्य कति सुरक्षित देख्नुहुन्छ ? तपाईँका बालबच्चाका त्यस्तो जिज्ञासा ‘तपाईँको सिको गरी हामी त्यसै गर्छौँ !’ भन्ने सन्देश हो, बेलैमा बुझ्नुहोस् । खबरदार ! मानव सभ्यताको असल परम्परा भाँच्ने ल्याकत र अधिकार तपाईँसँग छैन, त्यसैले तपाईँका सन्तानलाई त्यो दुर्व्यसनमा लगाउन पनि पाउनुहुन्न ।
पाका मान्छेहरू ‘गनगने, किचकिचे, मुख चिलाएर बोल्ने’ होइनन् बरु आफन्तले आफैँले भोगेको गल्तीमा नपरून् भनी केही हुनासाथ बोल्ने हुन् । पाका मान्छेका कुरा सुन्नासाथ अडिने, सुन्ने र आवश्यक परे नबुझे सोध्ने हो, हजामको छुराजस्तो जिब्रो बनाउने होइन । पाका मान्छेको आफ्नै लय र तालमा मनका कुरा भन्नुहुन्छ, त्यस्तै कुरा दोहाेर्याएर कम उमेरकाले भन्दा खिसी गरेको हुन्छ । बारम्बार अथक प्रयास स्वरुप भनिरहने बानी नराम्रो होइन पाका मान्छेको, त्यो त भनेको सुनेर गर्यो कि गरेन भनेर जाँच गरेको हो । तपाईँ त्यस्ता जाँचमा आफ्नै र आफ्ना सन्तानको हितका लागि फेल हुन पाउनुहुन्न ! सोच्नोस् ।
बिचार गरौँ, पाका मान्छे त सादर ज्ञान दिने भकारी हुन्, तपाईँका कुरा र व्यवहारले भकारी प्वाल नपरोस्, खाली भाँडोजस्तो अवाक् नहोस् । त्यसैले पाका मान्छेका कुरा सुनेर अझ बढी उन्नति र प्रगतिमा अघि बढ्ने कि ‘डिँगो नपरी चेत्दैन’ भन्ने उखानझैँ आफैँ खाल्डामा परेर अनुभव गर्ने ? बढी मिहेनत बिना सजिलो र सरल उपाय छोडी किन अबाटो लाग्ने ? किन भरोसायोग्य र शुभचिन्तकको चित्त रुवाउने र आफू पनि घाटामा पर्ने ? त्यस्तो गरेर एकबारको जीन्दगीमा आफू पाको हुँदा तपाईँ पश्चात्तापको आहतमा पर्न नखोज्नोस् है ! फेरि चलेको उखान ‘अघि जानिन, पछि मानिन, बाघ लाग्यो घिच्च्याउन, म लागेँ चिच्याउन’ भनी पाको उमेरमा बलिन्द्र धारा जोरीपारिलाई देखाउँदै विरह गाउनुपर्ला ।
समाधान
सुरक्षित भविष्य र आफ्नै पाको उमेरकालागि पनि तपाईँ आफ्ना घरमा पाका मान्छेका कुरा मान्ने र ध्यानदिने परम्परा बसाली हाल्नोस् । हरेक घरायसी र बाहिरका काममा भद्र तरिकाले कुरा राखेर पाका मान्छेको सहमति लिनुहोस्, त्यसैलाई नै सबैले ‘भनेको मानेको’ भन्छन् । सहमतिका कुरा ‘बा आमा वा हजुरबाआमाले पनि हुन्छ भन्नुभएको’ भनी आफ्नो उमेर समूह र कम उमेरकालाई सम्प्रेषित गर्नुहोस् । त्यो घरायसी व्यवहारले तपाईँको घरमा ‘तीक्ष्ण मूल्याङ्कन गरी खबरदारी गर्ने, समग्रको हित अहित बिचार्ने अभिभावक हुनुहुन्छ र हामी त्यसैले ढुक्क हुन सक्छौँ’ भन्ने ढाडसयुक्त अनुशासन कायम हुन्छ । मानिदिने र भनेअनुसार गर्ने आज्ञाकारीताको संस्कार त भोलि आफू पाको मान्छेमा दरिँदा फिर्ता हुने सम्पती पो हो त । त्यो तरिकाले तपाईँ पुस्ताको भविष्य पनि सुरक्षित रहला, त्यसपछिका सन्तानमा गुण सर्दै जाला र मानव समाज सुसंस्कृत रहला ! भनेपछि अहिले तपाईँले गरेको व्यवहारले तपाईँका नातिनातिना पुस्तासम्म राम्रो गर्दै हुनुहुन्छ है, गर्व गर्नुहोस् ठिक गर्दै छु भनेर ।
स्वतःस्फूर्त भनेको सुन्नु त छँदै छ, त्यस्तो बाहेक आफूलाई दोधार परेका सबै कुरामा पाका मान्छेका कुरा सुन्नुहोस् । तपाईँलाई भनिएको सामान्य सल्लाहले पनि कुहिराको बस्तीमा पूर्णचन्द्रको आभास हुनेछ । पाका मान्छेका अनुभवसिद्ध उपायले बादल फाटेर झलमल्ल घामले जाडो दिनमा सुमसुम्याएको अनुभव हुनेछ । पाका मान्छेका भनाईमा मुख फर्काउने होइन सादर उत्सुकता लिने हो, तपाईँको कैयौँ समस्या सहजै हल हुन्छन् । भनेको नसुनेझैँ गर्दा नै अझै मान्छन् कि, आफ्नै सन्तान हुन बेमाख हुन त दिनुभएन भन्ने मायाले कुरा दोहोर्याएर सुनाएको हो । सुनेर मान गर्न सक्नुहुन्न भने हियाउने, बेवास्ता गर्ने, सुन्या नसुनेझैँ गरेर अवज्ञा र अपमान त नगर्नोस् न ! तपाईँलाई उहाँहरूको नरम र विवेकी कुरा सुन्दा केही नोक्सान छैन । एकातिर घरका सबैमा सम्मानित भएर सौहार्दता बढेन अर्कोतिर पाका मान्छेको गुनासो र पिल्पीलाहटको ठाउँमा स्नेह वर्षा भइरहने ! अब तपाईँलाई सुख र आनन्द खोज्न कतै जानु पर्ला त ?
भनेको सुन्नुहोस्
पाका मान्छेका कुरा सुन्नु पर्दछ, त्यो त सयौँ फूल चहारेर माहुरीले थोपा थोपा पराग जम्मा गरेर बनाएको महजस्तो हो । हरेक मानिसले लामो जीवनकालमा सिकेका कुरामा भोगेका अनुभवबाट बिचार बनाएको हुन्छ । पाका मान्छेका कुरा समाज विकास र उन्नतीकालागि त्यस्तै पोसिलो उपहार हो । तपाईँ आफूले श्रम नै नगरी केवल नम्रताले पाउने बहुमूल्य मानव सम्पत्ति हो । ‘अनुभवको इज्जत हुन्छ, पाका मान्छेलाई उमेरकै कारणले पनि मान्दछन् र थाहा पाई सकेको कुरामा आफन्तले दुख नपाउन’ भनेर पाका मान्छे कुरा गर्न रुचाउँछन् । उहाँहरूले सम्झाएका अथवा दिएका अर्ति उपदेश सुन्नुहोस् नबुझे बरु सप्रसङ्ग व्याख्या सोध्नुहोस् । तपाईँले चाखिलएकोमा ‘मलाई मान्छ र म अझै काम लाग्ने छु’ भन्ने गर्वले मक्ख परेर उहाँहरू अझ रौसिएर विविध चर्चा गर्नु हुनेछ, सयौँ आफन्त र अरूको उदाहरण दिनुहुनेछ । तपाईँलाई प्रस्ट हुन झन् सजिलो हुनेछ ।
हाम्रो नेपाली समाज विकास क्रम बुझ्न पनि उहाँहरूको अनुभव लाभकारी हुन्छ । पहिलेका रीतिरिवाज, आर्थिक, सामाजिक अवस्था, राजनीतिक प्रणालीलाई प्रत्यक्ष भोगेका उहाँहरूबाट आफ्नो इच्छा र योग्यताअनुसार लप्पनछप्पन नगरी जीवन्त कुरा सुन्न पाइन्छ । खास विषयका ज्ञाता वा विज्ञ पाका मान्छेबाट त ज्ञान विज्ञानको विकास क्रम बुझ्न झन् सजिलो हुन्छ । सामाजिक, राजनीतिक विषय र इतिहासका किताब त कसले कसकाे लागि लेखाएको त्यसरी नै लेखिन्छ नि, कैयौँ कुरा त्यस्तै स्वार्थले ओझेलमा परेका हुन्छन् । रैतीको तहमा भोगाईकन निष्कलङ्कपन त तपाईँका पाका मान्छेले मात्र भन्नु हुनेछ । यतीखेर उहाँलाई कुनै लोभ र डरले सत्यबोल्न पछि हटाउँदैन । विगतको सजीव चित्रणमा रमाउन चाहनुहुन्छ र आफैँ जानकार हुन चाहनुहुन्छ भने पाका मान्छेका कुरा सुन्नु परेन त ? तपाईँहरूले ऐतिहासिक ज्ञान पाउने उहाँहरू आफ्ना कुरा सुनिदिएकोमा मक्ख पर्ने, दोब्बर फाइदा भएन त ? त्यस्तो पारिवारिक वातावरणले तपाईँका पाका मान्छे हौसिएर ‘सर्वाङ्ग रौँ फूलेका भीष्म पनि आफ्ना मान्छे कालागि हस्तिनापुरको लडाइँमा गए झैँ’ हरेक काममा कति सहयोगी हुनुहुन्छ ? हेर्दै जानोस् ।
अन्त्यमा,
पाका मानिस आदर भावना, गम्भीरता सद्भाव रुचाउनुहुन्छ, अनावश्यक स्वाङ, देखावट र घमन्ड पराउनुहुन्न । अरू उमेर समूहका जस्तो खर्चालु हुनुहुन्न पाका मान्छे, हरेक कुरा जाँची परख गरी अनुभवका आधारमा सुपथमा किन्न खोज्नु हुन्छ । सानो सहयोग र थोरै कुरा मानै साह्रै चित्त बुझाउने र सन्तोषी हुने बानी उहाँहरूको हुन्छ । ‘साँच्नि लुगा नि छैन, लुकाउने कुरा नि छैन’ भनेझैँ तपाईँका पाका मान्छे थोरै जोर लुगामा चित्त बुझाउन सक्नुहुन्छ । मनमा लागेको कुरा निर्धक्क भन्ने नै उहाँको स्पष्टबादिता हो । उमेरकै कारण जे पायो त्यही खान र जति सकेको धेरै खान पनि खोज्नुहुन्न, बरु अझै धेरै वर्ष परिवारको रेखदेख गर्न के खाए त्यो उमेरमा फाइदा हुन्छ, भन् नसक्नु हुन्छ । दशकौँदेखि आफ्ना बाबुआमा र सन्तानको हेर बिचारमा वयस्क जीवन कटाएका उहाँहरू सबैलाई पुगे नपुगेको अझै पनि ख्याल राख्दै आफ्नो भागमा बढिराखेको जस्तो भए अरूलाई दिई हाल्न नपराउनु हुन्छ । मन मिल्ने र निकै नजिकका आफन्त भेटा मज्जाले कुरा नलुकाई गफिन सक्नुहुन्छ, ढाँट्न जान्नु हुँदैन ।
तपाईँ आफ्नो काम जस्तो ज्ञान र क्षमता छ, जसरी गर्न मन लाग्छ गर्नोस्, एक बचन आफ्ना अभिभावकलाई जानकारी दिनोस् । गर्न त आफैँले गर्ने हो तर ‘यसो गर्न लागेको के होला ?’ भनी सोधिदिनोस् । उहाँहरूले केही भने सल्लाह दिए मानिदिनोस् । उहाँहरूलाई पनि हिँडडुल कम भएकाले र परिवारमा अनुभवीमा पर्ने हुनाले आफ्नै परिवारसँग बोल्न मन लाग्छ भनेको कुरा सुनिदिने गर्नोस् । त्यस्तो अवसर पाउँदा उहाँहरूलाई ‘पाथी भात खाएको’ सन्तुष्टि हुन्छ र उमारिँदा हुने रोगले गाँज्न नि पाउँदैन । होस पुर्याएर काम गर्ने बानी परेकाले वंशाणुगत वा स्थायी रोग पनि नहुन सक्छ । त्यसैले उहाँहरूले सन्तोष गर्ने वातावरण भए रोग थपिँदैनन् र सरुवा रोग पनि नलाग्न सक्छ । पाका मान्छे फारुतिन गर्न सिपालु हुन्छन् । साना र मसिना कुरा पनि जोगाउन, अजगमा राखनधरन गर्न र चाहिँदा थोरैले पुर्याउन जान्दछन् ।
हँसखुस पाका मान्छेका कारण परिवारलाई मानसिक मात्र होइन सामान्यबाहेक थप आर्थिक भार पनि पर्दैन । बरु तपाईँहरूका असल र सादर व्यवहारले पुलकित भई ‘भनेको मान्छन्, हाम्रा कुरा सुन्ने छोराबुहारी छन् नातिनातिना त्यस्तै’ भनेर मौका पर्नासाथ बखान गरेको सुनिन्छ । अनि उहाँहरूले ईष्टमित्र र आफन्त भेटघाटमा उहाँहरूले तपाईँहरूको प्रशंसा गर्नुहुन्छ । के तपाईँलाई यस्तो सामाजिक इज्जत मन पर्दैन र ? त्यसो हुँदा पो ‘जस्तो बाउ उस्तै छोरो, जस्तो सासू उस्तै बुहारी, कस्तो कुलघरमानका’ भन्ने आशीर्वचन सबैतिरबाट ओइरिन्छ नि । तपाईँहरूका सम्पूर्ण मेहनत अभिभावकको निकानन्द दिनहरू र आफ्नो चिन्तारहित सरल जीवनका लागि होइन र ? जीवनको उत्तरार्द्धमा पुगेका परिवारका अभिभावकले पाका मान्छेको जमघटमा ‘फलानाका छोराबुहारी कुलङ्घार नै रैछन्’ भनेको सुन्नै पर्दैन । क्या हाइसन्चो ! आफ्नो इज्जत र प्रतिष्ठा सामान्य व्यवहारबाट नै सुपथमा आर्जन हुने, पहिले अबाटो लागेर छुटाएको भए अब नबिर्सी चाँजो मिलाउँदै अघि बढौँ है !