नेभिगेशन
समाचार

प्रचण्डद्वारा बाबुराम भट्टराई र माधव नेपालसँग पार्टी एकताको प्रस्ताव

काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा बाबुराम भट्टराई र माधव नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । जनता समाजवादी पार्टीबाट बाहिरिने क्रममा रहेका डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ताको प्रयास गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा आउन गरेको प्रस्ताव बाबुराम भट्टराईले अस्वीकार गरेपछि सँगै नयाँ पार्टी बनाउने बारे भट्टराईले प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डले नेकपा समाजवादी केन्द्र बनाएर जाने बारेमा डा भट्टराईसँग छलफल गरेका छन् । बुधबार विहान ९ बजेदेखि ११ बजेसम्म प्रचण्ड र डा भट्टराई हात्तिवनमा पार्टी एकताबारे छलफल भएको थियो । प्रचण्डको प्रस्ताव पछि सल्लाह गरेर जवाफ दिने डा भट्टराईले प्रतिक्रिया दिएको स्रोतले बताएको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादी केन्द्र समान एजेण्डा लिएर अघि बढेको र समाजवादी केन्द्र बनाउँदा उनीहरूलाई पनि समेट्न सकिने बारेमा प्रचण्ड र भट्टराईबीच छलफल भएको बताइएको छ । यसअघि प्रचण्डले माधव नेपालसँग समाजवादी केन्द्रलाई पार्टी बनाएर जाने गरी माओवादी केन्द्र र एकीकृत समाजवादीको एकीकरणको प्रस्ताव गरिसकेको समाजवादी केन्द्रका नेताहरू बताउँछन् । एकीकृत समाजवादी, माओवादी केन्द्र र डा भट्टराई सहितको छलफल विहीवार हुन सक्ने उनीहरूनिकट नेताहरूले बताएका छन् । तर, अहिलेसम्म भेट्ने समय र ठाउँ भने निश्चित भइनसकेको बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार