नेभिगेशन
समाचार

चुनाव नजिकिएसँगै बाम तालमेलको चर्चा, होला त तालमेल ?

काठमाडौं - संघीय र प्रदेश सभाको निर्वाचन नजिकिएसंगै वाम गठबन्धनको विषयमा चर्चा शुरु भएको छ । स्थानीय तहको मत परिणामले झस्किएका कम्युनिष्टहरु फेरि गठबन्धन गर्नुपर्ने भन्दै संवाद शुरु गरेका छन् ।

वाम तालमेल वा गठबन्धन गर्ने विषयमा बहस भइरहँदा मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराईबीच सिहंदरबारमा भेटवार्ता भएको छ । कांग्रेसले धोका दिएको भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम जिल्ला समन्वय समितिको चुनावमा एमालेसँग तालमेल गरिसकेका छन् ।

वामदेव गौतमले वाम एकताको लागि भन्दै नयाँ दल मात्रै स्थापना गरेका छैनन् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल समक्ष वाम तालमेल गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

एमालेभित्र पनि पृथ्वी सब्बा गुरुङ, घनश्याम भुसाललगायता नेताहरुले संघीय निर्वाचनअघि नै वाम गठबन्धन वा वाम तालमेल गर्नुपर्ने आवाज चर्कोसँग राखेका छन । माओवादी केन्द्रभित्र पनि नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायतका नेतालेहरुले चुनावअघि नै वाम तालमेल हुनुपर्ने वकालत गर्दै आएका छन् ।

गत हप्ता मात्रै चिनियाँ विदेश विभाग प्रमुखको नेपाल भ्रमण र कम्यनिष्ट नेताहरुसँग गरेको भेतवार्तालाई समेत अर्थपूणर् ढंगले हेरिएको छ । त्यसैमाथि चिनियाँ नेताको भ्रमण सकिए लगत्तै माओवादी केन्द्रका अध्यक्ष दाहाललको भारत भ्रमण, उनको चीन भ्रमणको कार्यतालिका र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई वेवास्ता गरेको विषयलाई समेत निकै चासोका साथ हेरिएको छ ।

दोस्रो तहका नेतालेहरुले विगतका गल्तीलाई आत्मसमीक्षा गर्दै वाम गठबन्धन गर्नुपर्ने पहल शुरु गरे पनि शीर्ष नेताहरुको जुंगाको लडाइँका कारण तत्काल वाम तालमेलको सम्भावना न्यून बन्दै गएको छ । एमाले अध्यक्ष ओलीले १९ बुँदे आरोप लगाएकोमा प्रचण्डले माफी माग्नुपर्ने र एमाले विभाजनको गल्ती माधव नेपालले स्वीकार्नु पर्ने अडान राख्दै आएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा माफी मागेमा मात्रै वाम तालमेलका विषयमा सोच्न सकिने बताउँदै आएका छन् ।

कम्युनिष्ट दलहरु नमिल्दा त्यसको प्रत्यक्ष फाइदा नेपाली कांग्रेसले लिएको छ । संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव समेत राख्न नसक्ने कांग्रेसले अहिले मुलुकको नेतृत्व सम्हालेको छ । दुई प्रदेशमा मुख्यमन्त्रीसहित अत्य प्रदेशमा सम्मानजनक मन्त्रीहरुको हिस्सा लिएको कांग्रेसले कम्युनिष्ट फुटेकै कारण राष्ट्रिय सभामा शक्ति सुधार गरेको छ भने स्थानीय तहमा पनि राम्रो मतपरिणाम ल्याएको छ ।

आगमी संघीय र प्रदेश सभाको निर्वाचनमा पनि कांग्रेसले एकथरी कम्युनिष्टलाई काखा र अर्काथरीलाई कम्युनिष्टलाई पाखा लगाउँदै सत्ता हत्याउने रणनीति बुनेको छ । तर देशमा दुई तिहाई भन्दा धेरै जनमत पाएका कम्युनिष्ट भने एक अर्कालाई सत्तोसराप गर्दै बसेका छन् । नेपालको इतिहासलाई फर्केर हेर्ने हो भने कम्युनिष्टलाई जनताले पटक-पटक विश्वास गरेर सत्तामा पुर्‍याएका छन ।

तर कम्युनिष्टहरु भने सत्तामा पुगेपछि जनताको मतलाई कुल्चदै आएका छन् । समान विचार र सिद्धान्त भएका दल एक हुनु राम्रो हो । तर नेपालमा भने नेताका स्वार्थका कारण कम्युनिष्ट मिल्ने भन्दा पनि सिद्दिने बाटोतर्फ अग्रसर देखिन थालेका छन । अहिले चलेको वाम तालमेलको विषयमा नेताहरुका मत भने विभाजित छन । यस्तोमा वाम तालमेल हुुन्छ वा हुँदैन त्यो भने समयले नै देखाउने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार