नेभिगेशन
समाचार

वीरगञ्जमा जसपाको उपेन्द्र पक्षको बैठक शुरू, बाबुराम पक्षलाई कारबाहीको तयारी

पर्सा - सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्यको बैठक पर्साको वीरगञ्जमा शुरू भएको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्यको बैठक काठमाडौंमा शुरू भएको भोलिपल्ट यादव पक्षको बैठक वीरगञ्जमा शुरू भएको हो । केन्द्रीय समिति बैठकमा यादव पक्षका केन्द्रीय समिति सदस्यको उपस्थिति छ ।

बैठकमा सहभागी हुन देशभरबाट पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरु वीरगञ्जमा जम्मा भइसकेका छन् । बैठकमा वरिष्ठ नेता अशोक राई, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव, संघीय मामिला तथा प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादव पनि सहभागी छन् ।

त्यसैगरी बैठकमा केन्द्रीय सदस्य आङकाजी शेर्पा पनि पुगेका छन् । यो बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी भएका छन् । भट्टराई पक्षले बहुमत केन्द्रीय सदस्य र सांसद आफ्नो पक्षमा रहेको बताएका थिए । यादव पक्षका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले वीरगञ्जमा शुरू भएको बैठकमा बहुमत रहेको दाबी गरे ।

वीरगञ्जमा शुरू भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, संगठन सुदृढिकरण र आगामी निर्वाचनका विषयमा छलफल हुने उनले जानकारी दिएका छन् । भट्टराई पक्षले काठमाडौंमा गरेको बैठक अवैधानिक भएको उनले बताए । ‘पार्टीको बैठक अध्यक्षले डाक्ने हो, उहाँ (भट्टराई) ले गरेको बैठक नै अवैधानिक हो’, यादवले भने । जसपा नेताहरूका अनुसार भट्टराई पक्षमाथि कारबाहीको तयारी गरिएको छ । एक नेताले भने, ‘आजको बैठकले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईविरुद्ध कडा निणर्य गर्छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार